काठमाडौँ
ललितपुरको गोदावरी नगरपालिकाका गोदावरी र बडिखेल क्षेत्रमा तीन महिना सम्म कुखुरा लगायत पन्छी पालनमा रोक लगाइएको छ । गोदावरी र बडिखेल क्षेत्रमा रहेका चारवटा फर्ममा बर्डफ्लुको संक्रमण भेटिएपछि पन्छी पालनमा रोक लगाइएको हो । स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म तीन महिनालाई कुखुरा लगायत अन्य पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो । स्थानीय प्रशासनले ती ठाउँलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र समेत घोषणा गरेको छ ।
बर्डफ्लुको जीवाणु भेटिएको गोदावरी पूर्वमा गोदावरी जाने नयाँ बाटो, पश्चिममा ललित घुम्ती सडक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा डल्फिन स्कुलको पर्खाल सम्मको स्थानलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र तोकिएको हो । यसैगरी बडिखेलमा पूर्वमा डेक्लेको डिल, पश्चिममा लेले जाने बाटो, उत्तरमा हाबे जाने बाटो र दक्षिणमा ब्लक फयाक्ट्री सम्मको स्थानसम्म बर्डफ्लु संकटग्रस्त क्षेत्र तोकिएको छ ।
बर्डफ्लुको जीवाणु एच फाइभ एन वान नामक भाइरस केही दिन अघि गोदावरी र बडिखेल क्षेत्रका पशुपालकले पालेको ब्रोइलर र लोकल कुखुरामा देखिएपछि त्यहाँ बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बर्डफ्लुको संक्रमण भेटिएकाले प्रभावित ठाउँमा तीन महिनासम्म पन्छी पालनमा रोक लगाइएको बताए । उनले गोदावरी र बडिखेल क्षेत्रका थप कुखुरा फर्ममा बर्डफ्लुको संक्रमण आउने सम्भावनालाई मध्यनजर गर्दै त्यहाँ संक्रमण परिधि तोकेर बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि बताए ।
पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र पशु सेवा कार्यालय ललितपुरबाट खटिएको संयुक्त टोलीले ४ हजार ४८० कुखुरा र हाँस नष्ट गरेको छ । टोलीले बडिखेल र गोदावरीमा गरेर ४ हजार ४८० वटा पन्छी नष्ट गरेको हो । पन्छीमा ब्रोइलर तथा लोकल कुखुरा र हाँस परेका छन् । जस अनुसार बडिखेलमा ९२० र गोदावरी महादेव डाँडामा ३ हजार ४४४ ब्रोइलर कुखुरा नष्ट गरेको कार्यालयले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया