काठमाडौँ
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर घिमिरेले जानकारी दिए । गत जेठ १९ गते मेदान्तबाट उपचार गराएर फर्किएका राष्ट्रकवि घिमिरेलाई पुनः सोही दिन देखि नै सानो आन्द्राबाट रक्तश्राव हुन थालेपछि गत जेठ २१ गते मेदान्तमा उपचारका लागि पुनः लगिएको हो ।
“अहिले बुबाको स्वास्थ्य अवस्था राम्रो भएको छ । सानो आन्द्राबाट रक्तश्राव हुने क्रम रोकिएको करीब चार दिनजति भयो ।” छोरा इन्दीवरले भने, “पहिलेको तुलनामा धेरै सुधार भएको छ । उनलाई सोमबार सम्म चिकित्सकले अस्पतालमा राखेर हेर्ने भएका छन् ।”
यसअघि उनलाई जेठ ९ गते देखि १० दिनसम्म मेदान्तमा राखेर उपचार गराइएको थियो, तर सोही दिन देखि उनको पुरानो सानो आन्द्राबाट रक्तश्राव हुने समस्या पुनः बल्झिएको थियो । उनको अहिले मेदान्तमा उच्च हेरविचार इकाइ (हाइकेयर युनिट) मा राखेर चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ ।
रासस





























प्रतिक्रिया