काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता अग्निप्रसाद सापकोटाले जेन–जी पुस्तासँग आफ्नो पार्टीको विचारधारा र धारणा मिल्दोजुल्दो रहेको बताएका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले जेन–जीले अघि सारेका मागहरू आफूहरूले पहिलेदेखि नै उठाउँदै आएको विषय भएको उल्लेख गरे ।
साथै, ती मागहरूप्रति आफूहरू पूर्ण रूपमा सहमत र सकारात्मक रहेको पनि स्पष्ट पारे । सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा पनि जेन–जीका मागहरूलाई समर्थन गर्दै आएको स्मरण गराउँदै भने, ‘जेन–जीले उठाएका सबै कुरा उचित र न्यायोचित छन् । हाम्रो सोचाइ, दृष्टिकोण र धारणा उनीहरूसँगै मिल्छ । यसमा हामीबीच एकता छ, र हामी यसलाई अघि बढाउन निरन्तर छलफल गरिरहेका छौं । चाहे प्रधानमन्त्री होस् वा राष्ट्रपतिसँगको भेटमा, यो विषयलाई हामीले जोड दिइरहेका छौं, हामी जेन जीहरुको साथमै छौँ।’
यसैगरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णयलाई पनि सापकोटाले सकारात्मक रूपमा मूल्यांकन गरेका छन् ।





























प्रतिक्रिया