भारतले पहिलोपटक जित्यो आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि

भारतले पहिलोपटक जित्यो आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । भारतीय महिला क्रिकेट टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि जितेर इतिहास रचेको छ।

गएराति मुम्बईको डीवाई पाटिल स्टेडियममा खचाखच भरिएको ४५,००० दर्शकको अगाडि भएको फाइनल खेलमा भारतले सानदार जित हासिल गरेको हो।

टस जितेर पहिले बलिङ गर्ने दक्षिण अफ्रिकाको निर्णयपछि ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रनको बलियो योगफल खडा गर्यो। भारतका लागि शेफाली वर्माले ७८ बलमा ८७ रन को उत्कृष्ट इनिङ्स खेलिन्। त्यस्तै, अलराउन्डर दीप्ति शर्माले ५८ बलमा ५८ रनको महत्त्वपूर्ण योगदान दिइन्। दक्षिण अफ्रिकाका लागि यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो लक्ष्य थियो।

जवाफमा, २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको टोली ४५.३ ओभरमा २४६ रनमा समेटियो। दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ड्टले ९८ बलमा १०१ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई आशा दिलाए पनि अन्य खेलाडीले साथ दिन सकेनन्। उनको शतकले गर्दा अन्तिम १० ओभरमा टोलीलाई जितका लागि ८८ रन आवश्यक थियो। तर, ४२ औं ओभरमा दीप्तिको बलमा अमनजोत कौरको शानदार क्याच मार्फत वोलभार्ड्ट आउट भएपछि खेल भारतको पक्षमा मोडिन पुग्यो।

भारतको जितमा ब्याट र बल दुवैबाट चम्किएकी दीप्ति शर्माले ३९ रन खर्चेर ५ विकेट लिँदै दक्षिण अफ्रिकाको मध्यक्रम ध्वस्त पारिन्। उनले महत्वपूर्ण समयमा कप्तान वोल्भार्ड्टको विकेट पनि लिएकी थिइन्। दीप्ति भने प्लेयर अफ द टुर्नामेन्ट भइन् ।साथै शेफाली वर्मा जसलाई चोटग्रस्त प्रतिका रावलको स्थानमा सेमिफाइनलमा मात्रै बोलाइएको थियो । उनले ब्याटमा उत्कृष्ट प्रदर्शन गरेपछि बलमा पनि २-३६ को प्रदर्शन गरेर प्लेयर अफ द म्याच घाेषित भइन् ।

लगातार तीन समूह चरणका खेलहरूमा पराजित भएपछि यो विश्वकप जित हासिल गर्नु भारतका लागि एक अविश्वसनीय पुनरागमन हो। यस जितसँगै हरमनप्रीत कौरको कप्तानीमा रहेको भारतीय टोलीले ५२ वर्षको महिला विश्वकपको इतिहासमा पहिलो पटक यो उपाधि आफ्नो नाममा पार्न सफल भएको छ।

Skip This
Skip This
Logo