काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ पार्टीहरुले एकताको सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् । तर सोही पार्टीहरुका केही नेता तथा कार्यकर्ताहरुले एकताको विरोध गरिरहेका छन र पुरानै पार्टीलाई निरन्तरता दिने अडानमा रहिरकेका छन् । यो सन्दर्भमा माओवादी केन्द्रमा नेता जनार्दन शर्मा (प्रभाकर) र समाजवादीका झलनाथ खनल, घनस्याम भुसाल सहितका नेताहरु एकताको विपक्षीमा उभिएका छन् ।
यस्तै अन्य दलहरुका केही नेताहरु पनि पार्टी एकताको विपक्षमा छन् । एकता गर्ने सहमतीमा हस्ताक्षर गरेका नेतृत्व तथा नेताहरु एकता लाई अन्तिम टुङ्गोमा पु-याउने कसरतमा लागिपरेका छन् । एकता भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १० (७) मा एकीकरण वा गाभिनुअघि प्रयोग गरिएको दलको नाम र चुनाव चिह्न एक वर्षसम्म कसैले प्रयोग गर्न नपाउने उल्लेख छ ।

“दफाबमोजिम दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झन्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन,” ऐनमा भनिएको छ ।
निर्वाचन आयोगका एक अधिकारीले एकीकरणका लागि आएका दलहरूको पूर्वनाम र चिह्न एक वर्षसम्म रद्द रहने र सोही नाम र चिह्न प्रयोग गर्न नपाइने बताउँछन् । दल दर्ता गर्ने भए नयाँ नाम राख्नुपर्ने ती अधिकारीको भनाई छ ।
आउँदो फागुन २१ गतेका निम्ति सरकारले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको समय दिइएको छ । सोही कारण छिट्टै नयाँ दल दर्ता गर्न जाने तयारीमा नेताहरु रहेका छन् ।
एकताको सहमति पत्रमा हस्ताक्षर गर्नेहरु एकता लाई टुङ्गोमा पु¥याएर नयाँ दल दर्ता गर्ने तयारीमा लागिरहेका बेला भिन्न मत राख्ने तथा पुरानै आफ्नै पार्टी र सिद्धान्तमा रहने निचोड निकालेका नेताहरुलाई भने एक बर्षसम्म पार्टीको नाम र चुनाव चिन्ह प्रयोगमा ल्याउन नपाइने भएपछी तनावको स्थिती सिर्जना भएको छ ।





























प्रतिक्रिया