विदेशमा देउवा पार्टीमा किचलो

विदेशमा देउवा पार्टीमा किचलो

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा विदेशमा भएका बेला यहाँ पार्टीमा किचलो भएको छ । जेन जी आन्दोलनमा घाईते भएका देउवा उपचारका लागि विदेश गएपछि पार्टीमा किचलो भएको हो । कार्यवाहक सभापतिको पद उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मा लगाएर शेरबहादुर देउवा उपचारका लागि विदेश गएका छन् । अब सक्रिय राजनीतिमा नफर्किनेगरी उनी हिँडे पनि कांग्रेसमा किचलो भने अझै उस्तै छ ।

जेनजी आन्दोलनको क्रममा आगलागीमा परेको केन्द्रीय कार्यालय सानेपाको भवनबाट देउवाले नेतृत्व हस्तान्तरणको अभ्यासस्वरूप कार्यवाहक दिएका थिए । तर, उनले कार्यवाहक दिएपछि खड्काले स्थितिलाई सजहतापूर्वक अगाडि बढाउन सकेका छैनन् ।

देउवा हिँडेकै पर्सिपल्टदेखि संस्थापन निकटका पूर्वपदाधिकारीको दबाबमा गुटको बैठक गरेका खड्का उनीहरूको दबाबबाट अझै मुक्त हुन सकेका छैनन् ।

महाधिवेशन फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि कि अघि भन्नेमा कांग्रेसमा चरम विवाद र विग्रहको स्थिति देखिएको छ । केन्द्रीय समितिको नियमित बैठक रोकेर सहमति गर्न खोजिएको प्रयाससमेत अझै टुंगोमा पुग्न सकेको छैन ।

बरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, डा। शशांक कोइराला र डा। प्रकाशशरण महतले कुनै हालतमा चुनावअघि महाधिवेशनमा जान नहुने अडान लिएका छन् । यही अडानलाई देखाउँदै कार्यवाहक सभापति खड्काले निर्णय लिन सकिरहेका छैनन् ।

यिनीहरूको अडानका बीच सोमबार ललितपुरको सिद्धार्थ कटेजमा बसेको कार्यसम्पादन समितिको अनौपचारिक छलफलमा कुरा नमिलेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने विषयमा कुरा राखेका थिए ।

तर, संस्थापन निकटका पदाधिकारी र पूर्वपदाधिकारीले निर्वाचनअघि महाधिवेशन गर्न नसकिने अडान राखेको एक नेताले जानकारी दिए । कार्यवाहक सभापति खड्काले पटकपटक आफ्नै पक्ष र इतरकासँग छलफल गरे पनि कुनै सहमति नजुटेको एक नेताले जानकारी दिए ।

‘कार्यवाहक सभापतिले छलफलको प्रयास गरेको देखिन्छ । तर, सोमबार दिनभरको उहाँको प्रयास कुनै टुंगोमा पुगेन । सबै आ(आफ्नै अडानमा बसेपछि यही विवाद बोकेरै भोलि १ बजे बस्ने केन्द्रीय समितिको बैठकमा जाने जस्तोगरी उठेका छौं,’ एक नेताले भने, ‘महामन्त्रीहरूले कार्यतालिका जसरी पनि ल्याउनै पर्ने अडान लिनुभएको छ । हाम्रो तर्फबाट निर्वाचनअघि महाधिवेशन हुँदैन भनेर कुरा राखिएको छ । धेरै नेताले हुँदैन भनेपछि अब महामन्त्रीले कार्यतालिका ल्याए पनि अर्को कार्यतालिका वैशाखमा महाधिवेशन गर्नेगरी ल्याउनुपर्ने दबाब आएको छ ।’

संस्थापन र इतर पक्षबीच कुरा नमिलेपछि कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालासँग धारणा मागेका थिए । तर, उनले प्रस्ट जवाफ नदिएको एक नेताले बताए । महाधिवेशन गर्नुपर्ने आशय व्यक्त गरे पनि कोइरालाले अडान लिएर निर्वाचनअघि नै महाधिवेशन गर्नेबारे राय नदिएको ती नेता बताउँछन् । त्यसैले अब केन्द्रीय समितिको बैठकमा सदस्यको कुरा सुन्ने र बैठक सकिने बेलासम्म सहमतिको प्रयास गर्ने गरी नेताहरू उठेका छन् ।

संस्थापन पक्षबाट वैशाखमा मात्रै महाधिवेशन गर्न सकिने अडान आएका बेला यही पक्षका केन्द्रीय सदस्यले छुट्टै भेला गरेका छन् । सोमबार बानेश्वरमा संस्थापनपक्षीय केन्द्रीय सदस्यहरूको भेला भएको हो । उनीहरूको भेलाले महाधिवेशनभन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने निर्णय गरेको छ ।

निर्वाचनलाई प्राथमिकता राख्नुपर्ने भन्दै संस्थापन पक्षीय केन्द्रीय सदस्यले वैशाखमा महाधिवेशन गर्नेगरी महामन्त्रीहरू अडानमा रहेपछि वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्नेगरी संस्थापनबाट महाधिवेशनको कार्यतालिका बनाएर जानुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

यो छलफलको अगुवाइ गरेका नेता गुरु बरालले वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशनको मिति प्रस्ताव गरेको जानकारी दिए । उनीहरूले समानुपातिक र राष्ट्रियसभा सदस्यका उम्मेदवार पार्टीका वर्तमान र पूर्वपदाधिकारीबाहेक हालसम्म कुनै अवसर नपाएकाबाट बनाउन पनि प्रस्ताव गरेका छन् ।

छलफलमा सहभागी भएका नेता शिवप्रसाद हुमागाईंले यतिखेर महाधिवेशनभन्दा निर्वाचन कांग्रेसको प्राथमिकतामा रहेको बताए ।

‘राष्ट्र र राष्ट्रियता संकटमा भएकोले सारा ध्यान कांग्रेसले मुलुकलाई निकास दिन र नेतृत्व दिन लगाउनुपर्छ । झिनामसिना कुरामा अल्झिनु हुँदैन । संविधान डिरेल भएकोले यसलाई सही मार्गमा ल्याउनुपर्छ । यसका लागि निर्वाचन नै उपयुक्त माध्यम हो । निर्वाचनलाई स्वागत गरेर तयारीमा लाग्नुपर्छ भन्ने हाम्रो निचोड हो,’ हुमागाईंले भने, ‘नियमित कि विशेष अधिवेशनको नचाहिने बखेडा झिनो विषय हो । नियमित प्रक्रियाको कुरा हो । ४ वर्षमा नभए पाँच वर्षभित्र हुन्छ । संकट आएको बेलामा मलाई टीका लगाएर देऊ भनेर हुँदैन । विशेष महाधिवेशनमा संगठनलाई रूपान्तरण, नेतृत्व रूपान्तरण हुँदैन । गगन थापाबाहेक अर्को नेतृत्वमा पार्टी नेतृत्व हत्याउने, कु मात्रै हुन्छ । हिजो सभापति हुनुभएन । अब गगनबाहेक अर्को राख्न हुँदैन ।

विशेष महाधिवेशनवालाको छुट्टै दबाब

चुनावअघि कि पछि भन्नेमा बहस केन्द्रित भइरहेका बेला विशेष महाधिवेशन पक्षले पनि उत्तिकै दबाब बढाइरहेका छन् ।

शीर्ष नेतालाई भेट्दै उनीहरूले ढिलोमा पुससम्म नियमित महाधिवेशन गर्न अन्यथा विशेष महाधिवेशनमा जान दबाब बढाएका छन् ।

अभियानको नेतृत्व गरिरहेका गुरु घिमिरे, देवराज चालिसेसहितका नेता शेखरको निवास पुगेका थिए ।

Skip This
Skip This
Logo