काठमाडौं। नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले पुष्पकमल दाहल प्रचण्डले बाटो बिराएको बताएका छन् । शर्माले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाटो बिराएको भन्दै उनीसँगको दशकौँको यात्रा टुंगिएको घोषणा गरेका हुन्।
उनले माओवादी र अन्य सात दलसँग मिलेर गरिएको एकता निर्णयप्रति स्पष्ट असहमति जनाउँदै नयाँ अभियान घोषणा गरेका छन्। कार्यक्रममा उनका साथमा नेता राम कार्कीको पनि उपस्थित रहेको थियो । शर्माले एकताप्रति आफूहरूको विरोध केवल संख्या र बहुमतको आधारमा नभएर पार्टीमा नीति, विधि र सिद्धान्त कायम गर्नका लागि भएको बताए।
उनले भने, ‘पार्टीमा संख्या कति छ, कसको पक्षमा बहुमत छ भनेर होइन। स्तुति गान गर्ने कार्यकर्ताको संख्याका आधारमा होइन, हामी सुधारको नयाँ योजनासहित अघि बढ्छौं।’ शर्माले प्रचण्ड समाजवादीमा विलय भएपनि माओवादीको गर्भिलो इतिहास लाई आँफुले जोगाइराख्न पार्टी एकताको पक्षमा नगएको बताए ।
उनले माओवादी आन्दोलन जनयुद्द र परिवर्तनलाई स्मरण गर्दै प्रचण्डले व्याक्तिबादी स्वार्थका कारण एकताको रणनीति अपनाएको जिकिर गरे । शर्माले अहिलेको एकता नेकपा पहिले एकता गरेर बनेको नेकपा जति पनि नटिक्ने ठोकुवा गरे ।
शर्माले आफूहरू सुधारमुखी नयाँ योजनासहित अघि बढ्दै पार्टी र समाज सुधार्ने नेतृत्व बनाउने प्रतिबद्धता जनाए । नेपाली समाजमा विद्दमान जात प्रथाको अन्त्यका लागि काम गर्ने उनले बताए । देशमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउदै शर्माले नागरिकता तथा राहदानी घरमै उपलब्ध गराउने कार्यक्रम उनले अघि सारेका छन्।
यस्तै उनले महाधिवेशन आयोजक समितिले एकता नाटक गरेको, महाधिवेशन टार्न खोजिएको र पार्टीमा विधि पद्धति स्थापनामा रोक लगाइएको आरोप लगाए। उनले भने, ‘आयोजक समितिले महाधिवेशनलाई टार्ने काम गर्यो। पार्टीमा विधि र पद्धति स्थापित गर्न नदिने काम भएको छ।’ नेता शर्माले प्रचण्डले माओवादी छाडेर माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गरेको भन्दै उनले त्यस्ता चाललाई अस्वीकार गर्ने भन्दै अहिलेको एकतालाई विचार र सिद्धान्तविहीनको संज्ञा दिए ।
शर्माले जनयुद्ध र जनआन्दोलनको बलिदान बोकेको इतिहास सम्झँदै प्रगतिशील अभियान चलाएर अघि बढ्ने बताए। ‘जनयुद्ध र जनआन्दोलनको बलिदान हामी बोक्न तयार छौँ,’उनले भने । कार्यक्रमका क्रममा जनार्दनले कसैलाई गाली गर्ने उद्देश्यमा नभई संस्थागत परिवर्तन र सुधारका लागि अघि बढ्ने पक्षमा रहेको बताउँदै पार्टीभित्रको प्रक्रियागत कमजोरी र नेतृत्वको निर्णयप्रति असहमति जनाए । प्रचण्डको नयाँ यात्रा दुर्घटनामा पर्ने शर्माले चेतावनी समेत दिए ।





























प्रतिक्रिया