विराटनगर
उपचार गरे बापतको पैसा नतिरेको भन्दै विराटनगरको एउटा निजी अस्पतालले एक बिरामीलाई दुई महिना भन्दा बढी समय देखि बन्धक बनाएर राखेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ५४ वर्षीय कूलबहादुर लिम्बूलाई विराटनगरको गोल्डेन अस्पतालले बन्धक बनाएर राखेको हो ।

बिरामीका आफन्तले अस्पतालले बन्धक बनाएर राखिरहेको भन्दै सहयोगका लागि विभिन्न सामाजिक संघ संस्थासँग हारगुहार गर्न थालेपछि घटना बाहिर आएको छ । अस्पतालले बाहिरका मान्छेलाई उनीसँग भेटघाट र गफगाफ गर्न नै प्रतिबन्ध लगाएको छ । गत फागुन २६ गते घाँस काट्ने क्रममा गोगुनको रुखबाट लडेर घाइते भएका उनको टाउकोमा चोट लागेको थियो ।
छोरा सुरेनका अनुसार लडेर घाइते भएपछि उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँबाट रेफर गरेपछि थप उपचारका लागि फागुन २७ गते गोल्डेनमा ल्याएका परिवारका सदस्यले उपचार ठिक भए पनि लामो समय देखि कूलबहादुरलाई घर लैजान पाइरहेका छैनन् ।
गोल्डेनमा भर्ना गरेपछि चिकित्सकले मस्तिष्कमा रगत जमेका कारण तत्काल शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको सुरेनले बताए । ‘शल्यक्रिया गर्नु पर्ने भन्दै अस्पतालले एक लाख १० हजार रुपैयाँ जम्मा गर्न भन्यो,’ उनले भने, ‘उक्त रकम जम्मा गरिदिएपछि त्यही दिन राति ११ः३० बजे बुवाको टाउकोको शल्यक्रिया भयो ।’ कूलबहादुरको शल्यक्रिया डा. सुदन ढकाल नेतृत्वको चिकित्सक टोलीले गरेको हो ।
शल्यक्रिया गरेर आईसियूमा राखिएका उनलाई त्यसको एक सातापछि जनरल वार्डको २५ नम्बर बेडमा सारिएको र त्यसको अर्को सातापछि नै उपचार ठिक भएको भन्दै अस्पतालले घर जान सल्लाह दिएर डिस्चार्ज गरिदिएको सुरेनले बताए । ‘अस्पतालले उपचार बापतको बाँकी रहेको दुई लाख रुपैयाँ तिरेर बिरामी लैजान भनेपछि हामी समस्यामा प¥र्यौँ’, उनले भने, ‘अहिले सम्म पैसा जुटाउन नसक्दा बुवालाई घर लैजान पाइएको छैन ।’ अहिले सम्ममा ५० हजार रुपैयाँ मात्रै भेला पार्न सकिएको र अस्पतालले त्यति रकम तिरेर बुवालार्ई घर लैजान नदिएको उनको गुनासो छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया