पर्वत । उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम तिमिल्सिनाको ।
बिहान उठेदेखि साँझसम्म मौरीको हेरचाहमै उनको समय बित्छ । पच्चिस वर्षदेखि व्यावसायिक मौरीपालनमा लागेका तिमिल्सिना जिल्लामै मौरीबाजेको रूपमा परिचित छन् । यसअघि उनी कुनै बेला जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा कहलिएका तिमिल्सिना सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन् ।
तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि मौरीपालनतर्फ आकर्षित भएका छन् । सुरुमा उनले मौरीपाल्न थाले । जब माहुरीको घार र महको माग बढ्न थाल्यो, उनले आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेका छन् ।
पहाडी भेगमा अनुकूल हुने एपी सेरेना जातको मौरी पालेका तिमिल्सिना यो व्यावसायवाट गतिलो कमाइ गर्न सफल भएको बताउँछन् । उनी भन्छन्, “यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।”
विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्षमात्र उनले एक सयभन्दा बढी माहुरीका घार बिक्री गरेका थिए ।
बगैँचामा अहिले ३५ वटा घारको स्याहार उनले गर्छन् । घारको सङ्ख्या धेरै भए पनि गत बर्खामा घरको आँगनसम्मै आएको केरुङ्गाको विशाल पहिरोले केही घार बगायो । केही अरिङ्गाल चराले नष्ट गरे । गत वर्षमात्र ६० मध्ये ४० घार अरिङ्गालले खाइदिएको उनले बताए ।
अहिले वर्षमा दुई सय किलो जति मह उत्पादन हुन्छ । मह प्रतिकिलोको रु एक हजार ५०० मा बिक्री हुन्छ । गाउँलेसहित पालिका र जिल्लाका विभिन्न कार्यालयका कर्मचारी महका ग्राहक हुन् । केही वर्ष अगाडि मौरीपालनबाटै वार्षिक रु १५ लाखसम्म कमाएका उनको आम्दानी भने पहिलेको जस्तो छैन । जलवायु परिवर्तन, शत्रु जीव र कीराको आक्रमण, जग्गा बाँझो रहनुलगायत कारण मौरीपालनमा कठिनाइ भएको तिमिल्सिनाको अनुभव छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थालेका उनी जिल्लाकै नमूना मौरीपालक किसान हुन् ।
उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाट नै बिक्री हुने गरेको छभने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको छ । कुश्माबजार, बागलुङ, क्षेत्रबाट पनि व्यावसायी घरमा नै आएर मह लैजाने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु १० हजार र मह प्रतिकिलो रु एक हजार ५०० मा बिक्री गर्दै आएको उनले बताए ।





























प्रतिक्रिया