काठमाडौं
सवारी चाप उच्च रहेको उपत्यकामा बेला बेलामा यसको व्यवस्थापनको लागि धेरै कुराहरु चर्चामा आइरहेका छन् । करिब १५ वर्ष अगाडि नै बाहिरी चक्रपथको आवश्यकता महसुस गरी निर्माण गरिने चर्चा चले पनि अहिलेसम्म त्यसले मूर्तरूप पाउन सकेको छैन । बागमती, विष्णुमती लगायतका खोला छेउका करिडरको निर्माण र सञ्चालन अहिलेसम्म व्यवस्थित र पूर्ण रूपमा हुन सकेको छैन । कतिपय स्थानमा वैकल्पिक बाटोको रूपमा हेरिएको यस्ता करिडरको निर्माणमा भएको ढिलासुस्तीलाई विडम्वना नै मान्नु पर्ने हुन्छ । काम शुरु भएको लामो समयको यो अवधिमा योजना मुताबिक बाहिरी चक्रपथ वा खोला छेउका करिडर लगायत आवश्यकता अनुसारको थप बाटोघाटोको निर्माण सम्पन्न भइसकेको भए उपत्यकाको ट्राफिक अवस्था सायद यति भयाभह हुने थिएन होला ।
यहि विचमा सरकारले हालै अर्को घोषणा गरेको छ । साइकलका लागि छुट्टै बाटो निर्माण गरिने । हुन त यो अहिलेको घोषणा भने होइन , विगत १ दशक भन्दा धेरै अघि देखि उपत्यकामा साइकल ट्रयाक निर्माणका कुराले चर्चा पाएको थियो । अघिल्ला केहि सरकारहरुले यसको लागि बजेट पनि विनियोजन गरेका थिए । सिनामंगल देखि एयरपोर्ट र तिलगंगा सम्मको करिव २ किलोमिटर बाटोको किनारमा साइकल ट्रयाकको काम शुरु गरेको लामो समय भएको छ । तर काम पुरा भएको छैन ।
यसैविचमा वर्तमान सरकारले पनि यस कामलाई निरन्तरता दिने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साइकलयात्रीको सुरक्षा र सुविधालाई ध्यान दिँदै काठमाडौँ महानगरमा साइकल ट्र्याक निर्माण गरिने बताएका छन् । प्रथम साइकल दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लिखित शुभकामना सन्देश पठाउँदै प्रमुख सार्वजनिक यातायातको साधनका रुपमा बिजुलीबाट चल्ने मोनोरेलको शुरुआत समेत गरिने उल्लेख गरेका छन् ।
गतिशील मानव जीवनको प्रतीकका रुपमा साइकल चिनिएको हुँदा साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्ने प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख थियो । तर यो कार्यलाई पनि चुनौतीको रुपमा हेरिएको छ । एकातिर निर्माण प्रक्रियाको लागि चाहिने जग्गा नहुनु र अर्कातिर बजेट अभाव नै यसमा मुख्य चुनौती रहेको बताइँदै आइएको छ । तर सरकारले गर्न चाह्यो भने यो ठूलो कुरा पनि होइन भन्नेहरु पनि छन् ।
यतिबेला राजधानीका अधिकांश बाटोमा सडकपेटी नै छैन । भएको स्थानमा पनि धेरै जसो ठाउँमा व्यवस्थित र उपयोग गर्न योग्य छैनन् । साइकल चलाएर हिँड्ने मिल्ने सडकपेटी त झन् मुस्किलले भेटिएला । राजधानी जस्तो स्थानमा आपाङ्गमैत्री सडक तथा सडकपेटी अनिवार्य रूपमा हुनुपर्नेमा त्यो त कल्पना बाहिरको विषय जस्तो भएको छ । यसरी सडकपेटीको अभावमा पैदलयात्री तथा साइकलयात्री मुख्य सडकबाटै हिँड्न पर्ने बाध्यता छ । यसले गर्दा पैदलयात्री, साइकलयात्री तथा अन्य सम्पूर्ण सवारी साधन सबै एउटै बाटोबाट आवागमन गर्नु पर्दा ट्राफिक जाम बढ्नुका साथै दुर्घटना पनि हुने गरेको छ । यस्तो अवस्थामा सरकारले उठाएको साइकल ट्रयाक निर्माणले गति लिने हो भने यो प्रभावकारी हुनेछ ।































प्रतिक्रिया