काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितविहीन बनेको छ । आज भएको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली युएईसँग ४ विकेटले स्तब्ध भएको हो ।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । युएईका लागि मोहम्मद शहादद ९६ रन बनाएर शतकबाट चुके । त्यसअघि मोहम्म वासिम ७६ रन बनाएर आउट भएका थिए ।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेको हातमा एकएक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको थियाे । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । उनले ६८ बलमा ४ चौका प्रहार गरे तर अर्धशतकबाट चुके । यता अलराउन्डर कुशल मल्लले ५१ बल खेल्दै ४५ रनको योगदान दिए। यसका साथै, दीपेन्द्र सिंह ऐरीले ४३ बलमा १ छक्कासहित ३७ रन र आरिफ शेखले ५४ बलमा ३० रन बनाएर टिमको स्कोर उकासे। नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल २ रन र आसिफ शेख ३४ रन आउट भए । कप्तान रोहित पौडेल पनि २ रनमा पेभेलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो।
यूएईका तीव्र गतिका बलर जुनैद सिद्धिक, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले समान २ विकेट हात पारे ।
जितविहीन नेपाल लिग २ तालिकामा २० खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । यता यूएई भने लगातार नेपालमाथि जित निकाल्दै १० अंकसहित आठौं स्थानमा छ । यसअघि अमेरिकाविरूद्धको दुवै खेलमा र युएईसँगको एक नेपाल पराजित भएको थियो। पहिलो खेलमा अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो। दोस्रो खेल युएईसँग ५ विकेटले पराजित हुँदा तेस्रो खेल पुनः अमेरिकासँगै ४ विकेटले पराजित भएको थियो।





























प्रतिक्रिया