भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

केन्द्रबिन्दु
6
Shares

भोजपुर । जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ । हिउँदे र वर्खे गरी यहाँ ५१ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी धनश्याम बरालले जानकारी दिए । विगतमा निर्वाहमुखी खेतीमा सीमित किसानहरू अहिले व्यावसायिक रूपमा आलु खेतीमा लाग्न थालेका उनले बताए । “जिल्लामा पछिल्लो समय व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ” उनले भने,“गत वर्ष भोजपुरमा ५१ हजार मेट्रिक टन भन्दाबढी आलु उत्पादन भएको थियो । आलु किसानको राम्रो आम्दानीको श्रोत बनेको छ ।”

ज्ञान केन्द्रले उन्नत जातको बीउ वितरणसँगै विभिन्न ठाउँमा आलु पकेट क्षेत्र निर्धारण गरेर प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जिल्लामा वर्खे आलुको उत्पादन बढी हुने गरेको किसानको भनाइ छ । ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि उत्पादित आलु बेचविखन गर्न सहजता भएको टेम्केमैयुङ– ५ मझौलेका किसान धनराज राईले बताए ।

सडकका पहुँचका कारण अहिले आलु किन्न ठेकेदारहरु गाडी लिएर घरमा नै आउने गरेको उनको भनाइ छ ।

“पहिले बेचविखन गर्न निकै समस्या थियो’ उनले भने,“पिठ्यूँमा बोकेर बेँसीसम्म लगेर र धानसँग सटही गथ्र्यौं। तर सडक विस्तार भएपछि अहिले ठेकेदारहरू गाडी लिएर घरमै आउँछन्।” उनका अनुसार, सडक पुगेसँगै किसानले उत्पादनको मूल्य समयमै पाउने र बजारसम्म सहज पहुँच बनेपछि आलु खेतीप्रति अझ आकर्षित भएका छन् ।

Logo