काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भएको सेलिब्रेटी क्रिकेट महोत्सव ‘क्रिकेट उत्सव २०२५’को उपाधि टिम इन्टरटेनरले जितेको छ । पाकिस्तान दूतावास क्रिकेट मैदान, धुम्बाराहीमा भएको एक विशेष कार्यक्रमका बीच टिम इन्टरटेनरले टिम स्टारलाई १ विकेटले हराउँदै उपाधि जितेको हो ।
यो महोत्सवको उद्घाटन नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले गरेका थिए । त्यस्तै विशेष अतिथिका रूपमा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह पनि उपस्थित थिए । सिंहले यो अवसरलाई ‘रमाइलो र प्रेरणादायी’ बताउँदै ‘टिभीको स्क्रिनमा देखिने कलाकारहरूलाई प्रत्यक्ष मैदानमा खेल्दै गरेको देख्नु निकै रोमाञ्चक अनुभव भएको र अबदेखि प्रत्येक वर्ष यो उत्सवमा स्वयंम उपस्थित हुने’ पनि बताए ।
भीएस नेटवर्कद्वारा आयोजित यो २० ओभरको मैत्रीपूर्ण खेलमा चलचित्र, संगीत, सञ्चार, कला, मनोरञ्जन र खेलकुद क्षेत्रका चर्चित हस्तीहरू एकै मञ्चमा उत्रिएका थिए । आज भएको फाइनल खेलमा टिम स्टारले पहिले ब्याटिङ गर्दै ९७ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । यो स्कोरले खेललाई निकै रोमाञ्चक बनाएको थियो, तर टिम इन्टरटेनरका खेलाडीहरूले मात्र ९ विकेट गुमाएर यसलाई सहजै पार गरेका थिए ।
टिम इन्टरटेनरका कप्तान कवि विप्लव प्रतीकले विजयपछि ‘खेलमा हारजित भन्दा पनि सहभागी सबै टोली विजेता भएको र आजको खेलमा सबैले स्पोट्र्सम्यानसिपको भावनाले खेलेको पनि बताए ।
आयोजकहरूका अनुसार, ‘क्रिकेट उत्सव २०२५’ को मुख्य उद्देश्य मनोरञ्जनसँगै राष्ट्रिय एकता र गौरवको भावना जगाउनु हो । यसले देशभर आधारस्तरीय क्रिकेटको विकासलाई समर्थन गर्दै नेपाली युवाहरूलाई खेलप्रति आकर्षित गर्ने लक्ष्य राखेको छ । सेलिब्रेटीहरूको सहभागिताले क्रिकेटलाई जनमानसमा थप लोकप्रिय बनाउने अपेक्षा गरिएको छ । यो महोत्सवले खेलकुद र मनोरञ्जनबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको छ, जसले नेपाली क्रिकेटको उत्साह र एकतालाई ताजा ऊर्जा प्रदान गर्नेछ ।
यस प्रकारका कार्यक्रमहरूले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि सृजना गर्दछन् । पाकिस्तान दूतावासको मैदानमा भएको यो प्रतियाेगिताले दुई देशबीचको खेलकुद कूटनीतिलाई पनि मजबुत बनाएको छ । भविष्यमा यस्ता उत्सवहरूले थप सेलिब्रेटीहरू र दर्शकहरूलाई आकर्षित गर्दै नेपाली क्रिकेटको विकासमा योगदान दिन सक्छन् ।





























प्रतिक्रिया