काठमाडौं । आगामी मंसिर १ गतेबाट नेपाली क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग(एनपिएल)को दोस्रो सिजन सुरु हुँदैछ । पहिलो सिजनको अपार सफलतापछि यो सिजनले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
टीयू क्रिकेट ग्राउण्डमा पहिलो पटक फ्लडलाइट्सको उज्यालोमा राति खेलहरू खेलाइने भएकाले दर्शकहरूको उत्साह चुलिएको छ । प्यारापिटमा बसेर खेलको मज्जा लुट्ने अवसरसँगै यो सिजनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरको चमक दिने निश्चितप्राय जस्तै छ ।
त्यति मात्र होइन एनपीएलको दोस्रो सिजनले नेपाली क्रिकेटलाई प्रविधि र सुविधाको नयाँ युगमा प्रवेश गराउँदैछ । पहिलो सिजनमा दिउँसो मात्र खेलाइएका खेलहरू यो पटक फ्लडलाइट्सको सहायताले राति पनि खेलाइने छन्, जसले दर्शकहरूलाई दिउँसो मात्र होइन, राति पनि कार्यालय समय सकेर स्टेडियममा आउने अवसर दिनेछ । सोही सपना पुरा गर्नका लागि हाल टीयू ग्राउण्डमा फ्लडलाइट्सको स्थापना र प्यारापिट निर्माण लगभग सम्पन्न भइसकेको छ । यो परिवर्तनले नेपाली क्रिकेटलाई ‘नाइट क्रिकेट’ को रोमाञ्चक अनुभव दिनेछ ।
त्यसैगरी प्रविधितर्फ पनि यो सिजनमा आधुनिक ब्रोडकास्टिङ टेक्नोलोजीहरूको प्रयोग हुने अपेक्षा गरिएको छ । पहिलो सिजनमा देखिएको सफलतापछि यो पटक हाई–स्पिड क्यामेरा र रियल–टाइम एनालिटिक्स जस्ता फिचरहरू थपिन सक्ने सम्भावना देखिएको छ । जसले खेललाई थप पारदर्शी र रोचक बनाउने पक्का छ । साथै, फ्यान इंगेजमेन्टका लागि मोबाइल एप र भर्चुअल रियालिटी जस्ता नयाँ टूलहरू पनि समावेश गरिने चर्चा चलिरहेको छ । यस्तोमा पहिलो सिजनको विजेता टोली जनकपुर बोल्ट्सले कस्तो खेल्ला ? हालसम्म कुन–कुन विदेशी खेलाडी भित्र्यायो होला ? डिफेन्डिङ च्याम्पियनको ट्यागलाई दोस्रो सिजन जोगाउन सफल होला कि नहोला ?
पहिलो सिजनको च्याम्पियन भएकै कारण जनकपुर बोल्ट्स दोस्रो सिजनमा सबैको नजरमा छ । पहिलो सिजको जस्तै धमाकेदार प्रस्तुती दिँदै दोस्रो सिजन पनि ब्याक–टु–ब्याक जितको लक्ष्यसहित मैदानमा उत्रने तयारी छ । समग्र टोलीको तयारीलाई हेर्दा जनकपुरले अनुभव र युवा जोशको सन्तुलनमा जोड दिएको देखिन्छ । हालै भारतको कोइम्बाटोरस्थित सुपरकिंग्स एकेडेमीमा ट्रेनिंग क्याम्प आयोजना गरेर उनीहरूले खेलाडीहरूको फिटनेस र स्किल सुधारमा गहिरिएर ध्यान दिएको देखिन्छ ।

नवनियुक्त प्रमुख प्रशिक्षक तथा वेस्ट इन्डिजका लेजेन्ड शिवनारायण चन्दरपौललाई भित्राएपछि जनकपुरको रणनीति थप मजबुत भएको छ । प्रमुख प्रशिक्षक चन्दरपौलको अनुभवले खेलाडीहरूलाई दबाबपूर्ण अवस्थामा पनि प्रखर प्रदर्शन गर्न सिकाउने अपेक्षा गरिएको छ । खेलाडी रिटेन्सनमा पनि मजबुत कोर टिम कायम राखेको बोल्ट्सले मार्की खेलाडीका रूपमा कप्तान आसिफ शेखलाई नै रिटेन गरेको छ । त्यसैगरी विकेटकिपर अनिल कुमार साह, ललित नारायण राजबंशी, रूपेश सिंह, किशोर महतो, शुभ कन्साकरलगायत ७ खेलाडीहरूलाई पनि जनकपुरले रिटेन गरेको छ ।
साथै विदेशी खेलाडीहरूमा पहिलो सिजनको एमभीपी अर्थात मोष्ट भ्यालुएबल खेलाडी लाहिरु मिलान्थालाई रिटेन गरिएको छ, जसले टोलीको ब्याटिङलाई थप मजबुत बनाउनेछ । श्रीलंकन मूलका लाहिरुले पहिलो सिजनको फाइनलमा अर्धशतक बनाएर जनकपुरलाई च्याम्पियन नै बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । त्यति मात्र होइन लाहिरुले पहिलो सिजनमा खेलेका १० खेलमा २९३ रन बनाए प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । नयाँ खेलाडीका रूपमा दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेललाई अनुबन्ध गरिएको छ, जसले बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्छन् ।
दक्षिण अफ्रिकाका अनुभवी वेन पार्नेलले हालसम्म खेलेका ५६ टी–२०आई खेलमा ५९ विकेट लिएका छन् । आईपीएल र अन्य लिगमा सक्रिय उनी यस वर्ष जनकपुरको बलिङ आक्रमणलाई धारिलो बनाउँन सक्छन् । तर, अर्कोतर्फ न्यूजिल्यान्डका जिमी निशम भने आईसीसीको नियमका कारण यो सिजन खेल्न नपाउने भएका छन्, जसले टोलीलाई केही चुनौती भने पक्कै थपेको छ ।

त्यसो त अझै ४ जना विदेशी खेलाडीहरु बोल्ट्सको सूचीमा छन् । तीमध्ये कम्तिमा दुईजना टेस्ट राष्ट्रबाट हुन सक्ने पनि बताइएको छ । यो वर्ष विदेशी खेलाडीहरुको लाइनअप गत वर्षभन्दा पनि बलियो हुने क्लबले दाबी गर्दै आएको छ । यद्यपी सार्वजनिक गरिसकेको भने छैन ।
त्यसैगरी बलिङतर्फ जनकपुरका लागि ललित राजबंशीले अघिल्लो सिजन एक्लैले ५ दशमलब ३२ को इकोनोमी रेटमा १७ विकेट लिएर सुदुरपश्चिमका स्कट कुगेलिज्नसँगै प्रतियोगिताकै सर्वाधिक विकेट टेकर बनेका थिए । ललितले सुदुरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौं गोर्खाजलगायतका खेलहरूमा उल्लेखनीय प्रदर्शन गर्दै उक्त विकेटहरु लिएका थिए । त्यसैगरी प्रतियोगितामै सर्वाधिक मेडन फ्याकेका ललितले काठमाडौं गोर्खाजविरुद्ध जम्मा ८ रन दिएर ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन देखाएका थिए । त्यस्तै अन्य खेलाडीहरू किशोर महतो र रूपेश सिंहले पनि जनकपुरलाई च्याम्पियन बन्न निकै मेहतन गरेका थिए ।
अर्कोतर्फ जनकपुरलाई दोस्रो पटक च्याम्पियन हुनबाट रोक्न ७ टोलीहरुले विश्वकै नामी खेलाडीहरुलाई भित्राउने क्रम जारी नै राखेको छ । यस्तोमा दोस्रो सिजन जनकपुरलाई विपक्षी टोलीहरुले कडा चुनौती दिने पक्का छ । पहिलो सिजनको रनर–अप सुदुरपश्चिम रोयल्सले आफ्नो स्क्वाड मजबुत बनाएको छ, जसमा उनीहरूको हाई विकेट टेकर स्कट कुगेलिज्नलाई रिटेन गरिसकेको छ । त्यस्तै, बिराटनगर किंग्सले दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वविख्यात ब्याटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेपछि उनीहरूको ब्याटिङ लाइनअप अझै घातक बनेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा यो टोलीले आक्रामक रणनीति अपनाउने देखिन्छ । चितवन राइनोजले पनि युगान्डाका अल्पेश रामजानीलाई साइन गरेर विविधता थपिसकेको छ, जसले पहिलो पटक युगान्डेली खेलाडीको रूपमा एनपीएलमा डेब्यु गर्नेछन् । अर्कोतर्फ कर्णाली याक्सले नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउडलाई ल्याएपछि उनीहरूको सुरुवाती ब्याटिङ थप मजबुत देखिएको छ । लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स पनि उत्तिकै मजबुत देखिन्छन्, जसले प्रतिस्पर्धालाई रोचक बनाउनेछ । आईसीसीको नियमले टेस्ट राष्ट्रका बढी खेलाडी साइन गर्न प्रतिबन्ध लगाए पनि यो सिजन अन्तर्राष्ट्रिय फ्लेभरले भरिपूर्ण हुनेछ ।





























प्रतिक्रिया