काठमाडौं । क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ को उपाधि पाकिस्तानले जितेको छ । आज हङकङमा भएको फाइनल खेलमा कुवेतलाई ४३ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो । पाकिस्तान यसअघि साविकको उपविजेता टोली पनि हो ।
योसँगै पाकिस्तानले छैटौंपटक उपाधि जितेको छ ।
फाइनल खेलमा पाकिस्तानले दिएको १३६ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ओभरमा ५.१ ओभरमा सवै विकेट गुमाउँदै ९२ रनमा समेटिएको हो । कुवेतका लागि अदनान इद्रीसले मात्र ८ बलमा ५ छक्कासहित ३० रन जोडे पनि त्यो जीतका लागि पर्याप्त भएन।
पाकिस्तानका बलर माअज सदाकतले २ ओभरमा २९ रन खर्चंदै सर्वाधिक ३ विकेट लिएर कुवेतको रन चेजलाई ध्वस्त पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै १३५ रनको विशाल योगफल खडा गरेकाे थियाे । पाकिस्तानका कप्तान अब्बास अफ्रिदी र खावाजा नाफेको विष्फोटक ब्याटिङसामु कुवेतका बलरहरू निरिह बने।
अफ्रिदीले केवल ११ बलमा ५२ रनको अविश्वसनीय पारी खेले, जसमा ७ छक्का र २ चौका समावेश थिए । उनको स्ट्राइक रेट ४७२.७२ रहेको थियो। यस्तै, खावाजा नाफेले पनि आक्रामक ब्याटिङ गर्दै १३ बलमा ४२ रन बनाएका थिए ।
१२ टोली रहेको यस प्रतियोगितामा नेपाल पनि सहभागी थियो । तर नेपालले एक मात्रै खेल जित्न सक्यो । शनिबार भएको समूह चरणको खेलमा नेपालले भारतमाथि ९२ रनको फराकिलो जित दर्ता गरेको थियो । यो नै नेपालको पहिलो जित हो । तर युएई, दक्षिण अफ्रिका, श्रीलङ्का र अफगानिस्तानसँग पराजित भएको थियो ।
नेपालले पहिलो पटक गत वर्ष यस प्रतियोगितामा सहभागिता जनाएको थियो । यो नेपालको दोस्रो सहभागिता थियो । ३३ वर्षको लामो इतिहास बोकेको यो प्रतियोगिता अनौठो ढाँचा र रोमाञ्चक शैलीका कारण विश्वभर चर्चित छ । यहाँ छक्का र चौकाको वर्षा नै गरिन्छ ।





























प्रतिक्रिया