लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाको उत्कृष्ट जित

लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाको उत्कृष्ट जित

केन्द्रबिन्दु
3
Shares

काठमाडाैं । स्पेनिस ला लिगाअन्तर्गत रोमाञ्चक खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई उसकै मैदानमा ४-२ को गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको यो जितमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे।

खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे। खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, सेल्टा भिगोका सर्जियो कारेराले ११औं मिनेटमै गोल फर्काउँदै खेल १-१ को बराबरीमा ल्याए।

पहिलो हाफमै खेलले तीव्र मोड लियो। ३७औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई फेरि २-१ को अग्रता दिए। तर, ४३औं मिनेटमा बोर्जा इग्लेसियासले सेल्टा भिगोका लागि गोल गर्दै स्कोर २-२ बनाए। पहिलो हाफको अन्त्यतिर, इन्जुरी समयमा युवा खेलाडी लामिन यामालले गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रताका साथ पहिलो हाफ समाप्त गर्‍यो।

दोस्रो हाफमा बार्सिलोनाले आफ्नो पकड बलियो बनायो। खेलको ७३औं मिनेटमा लेवान्डोस्कीले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीलाई ४-२ को आरामदायक अग्रता दिलाए। इन्जुरी समयको अन्त्यतिर फ्रेङ्की डे जोङले रातो कार्ड खाए । याेसँगै बार्सिलोनाले रियल म्याड्रिडसँगकाे अन्तर कम गरेकाे छ ।

Logo