सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं -डा. सीके राउत

सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं -डा. सीके राउत

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने माग राखेका छन् ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि उत्पन्न तनावका बीच डा. राउतले प्रदेशसभाको बैठकबाट स्वाययत्ता घोषणाको माग गरेका हुन् ।

‘मधेश प्रदेश सभाको बैठकबाट मधेश #प्रदेशको #स्वाययत्ता #घोषणा #गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं। डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं।’ उनले भनेका छन्, ‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोधसाध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं।’

अहिलेको संघीय सरकार पनि आन्दोलनको माग बमोजिम नै बनेको उनले तर्क राखेका छन् । प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न मिल्ने उनको दाबी छ ।

‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ। त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ। ५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भीखजस्तो दिने, अनि हामीले लिइराख्ने। उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने।’ उनले भनेका छन्, ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४ प्रतिशत जनसंख्या भएको मधेशलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्र विरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरूरी छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो।’

Logo