काठमाडौं । सरकार र मेडिकल व्यावसायी दुर्गा प्रसाईंको समूहबीच आज वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा हुने उक्त समुहले जनाएको छ । वार्तामा प्रसाईं भने सहभागी हुने छैनन् । उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुने माधव खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाले हामीसँग भने, ‘हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन गृह मन्त्रालय जाँदैछौं ।’
१८ कात्तिकमा सरकारले प्रसाईंले नेतृत्व गर्दै आएको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो। प्रसाईँले मन्त्रीस्तरीय वार्तामा आँफु सहभागी नहुने तर प्रधानमन्त्रीस्तरीय वार्तामा मात्र बस्ने कुरा बताएको खतिवडाले बताए ।
आन्दोलन घोषणा गरेका प्रसाईंमाथि निगरानी
गत १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो । प्रसाईंले फेरी आउँदो ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।
यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलन गर्न उक्साउ अभिव्यक्ति दिएका थिए ।
आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाएको गृह स्रोतले बताएको छ ।
यही कात्तिक महिनामा विवादास्पद मेडिकल व्यवसायी प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले समेत छलफल गरेका गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाए ।































प्रतिक्रिया