को हुन् एनपीएलमा जोडिएकी चर्चित प्रस्तोता जेस क्रो ?

को हुन् एनपीएलमा जोडिएकी चर्चित प्रस्तोता जेस क्रो ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि आधिकारिक प्रस्तोताका रूपमा जेस क्रो जोडिएकी छिन् । क्रिकेट क्षेत्रमा एक चर्चित प्रस्तोता, डिजिटल होस्ट र सामाजिक सञ्जाल मार्केटिङको प्रबन्धकका रूपमा परिचित जेस क्रोको आवाज यस संस्करणको पूरै एनपीएल सिजनभर सुनिने छ ।

जेस जस्ता अन्तर्राष्ट्रिय स्तरका प्रस्तोताले स्थानीय लिगलाई वैश्विक पहिचान दिन सक्छिन् । जेस एक युवा र ऊर्जावान अष्ट्रेलियन प्रस्तोता हुन् । उनले क्रिकेटको संसारमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनको जन्म र हुर्काइको बारेमा धेरै जानकारी उपलब्ध नभएता पनि उनको करियरले उनी क्रिकेटको गहिरो प्रेमी भएको प्रष्ट देखाउँछ । सोशल मिडियामा सक्रिय जेसले आफूलाई ‘प्रस्तोता÷डिजिटल होस्ट, कन्टेन्ट क्रिएटर र पोडकास्ट होस्ट’ का रूपमा परिचय दिन्छिन् ।

जेसको व्यावसायिक जीवन क्रिकेटको डिजिटल दुनियाबाट सुरु भएको देखिन्छ । उनी विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूसँग जोडिएकी छिन्, जसमा टी–१० लिग र द हन्ड्रेड जस्ता ठूला इभेन्टहरू पनि सामेल छन् । टी–१० लिग र द हन्ड्रेड जस्ता ठूला इभेन्टहरूमा उनले कन्टेन्ट क्रिएटर र प्रस्तोताका रूपमा काम गरेकी छिन्, जसले उनलाई क्रिकेटको तेज गतिमा अनुकूलित हुन सिकाएको छ ।

जेस क्रोको करियरमा सबैभन्दा चम्किलो मोड सन् २०२४ मा आएको थियो, उक्त वर्ष उनलाई मेरीलिबोन क्रिकेट क्लब (एमसीसी) द्वारा ‘यङ फिमेल ब्रोडकास्टर अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको थियो । यो अवार्ड लड्र्स क्रिकेट ग्राउन्डमा घोषणा भएको थियो, जसमा जेसले रेजिना सुडाहाजाईसँग संयुक्त रूपमा विजयी भएकी थिइन् । यो प्रतियोगितामा सयौँ युवा महिला ब्रोडकास्टरहरूले भाग लिएका थिए ।

यो अवार्डपछि जेसको करियरले नयाँ उडान लिएको छ । लिसेस्टरशायरमा आधारित जेसले विभिन्न क्रिकेट इभेन्टहरूमा काम गरेकी छिन्, जसले उनलाई ब्रोडकास्टिङको गहिरो ज्ञान दिएको छ । जेस क्रो केवल मैदानमा मात्र होइन, डिजिटल प्लेटफर्महरुमा पनि उत्तिकै सक्रिय छिन् । उनी ‘बियोन्ड द गेम’ नामक पोडकास्टको होस्ट पनि हुन्, जसमा उनी क्रिकेट खेलाडी, टिम र इभेन्टहरूका पछाडिका व्यक्तित्वहरुसँग उनीहरुको अनुभव साझा गर्छिन ।

एनपीएल नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । सन् २०२४ को पहिलो सिजनपछि दोस्रो सिजनलाई थप रोमाञ्चक बनाउन क्यानले अन्तर्राष्ट्रिय स्तरका प्रस्तोता ल्याउने प्रयास गरिरहेको छ । यस्तोमा जेस क्रोको आगमनले लिगलाई वैश्विक दर्शकहरूमा पु¥याउने अपेक्षा गरिएको छ । उनको ऊर्जावान शैली, क्रिकेटको गहिरो ज्ञान र सोशल मिडिया मार्केटिङको अनुभवले एनपीएललाई थप नयाँ उचाइ दिनेछ ।

Logo