काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दर्ज्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै महानिरीक्षक कार्कीले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताएका हुन् । “अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो”, उनले भने ।
जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उनले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए ।
२८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उनले सरकारप्रति आभार प्रकट गरे ।
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा गएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम् कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाउने निर्णय गरेको थियो ।































प्रतिक्रिया