काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत नर्वेले इस्टोनियामाथि शानदार जित दर्ता गरेको छ। गएराति भएको खेलमा स्टार स्ट्राइकर एर्लिंग हालान्डको प्रभावशाली प्रदर्शनको मद्दतले नर्वेले इस्टोनियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
नर्वेको घरेलु मैदानमा भएको यो खेलमा गोल वर्षा दोस्रो हाफमा भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै नर्वेले खेलमाथि नियन्त्रण जमायो।
नर्वेका लागि सबैभन्दा पहिले ५० औं मिनेटमा अलेक्जेन्डर सोर्लोथले गोल गर्दै टिमलाई अग्रता दिलाए। लगत्तै, उनले ५२ औं मिनेटमा अर्को गोल थप्दै स्कोर २-० बनाए।
यसपछि विश्व फुटबलमा तहल्का मच्चाइरहेका एर्लिंग हालान्डको पालो आयो। उनले ५६ औं मिनेटमा तेस्रो गोल गरे भने त्यसको केही मिनेटपछि नै ६२ औं मिनेटमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ४-० को बलियो स्थितिमा पुर्याए।
यद्यपि, इस्टोनियाका लागि रोबी साअरमाले ६४ औं मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए।
यो जितसँगै नर्वे विश्वकप छनोटको समूह ‘आई’ मा शीर्ष स्थानमा रहेको छ। नर्वेले खेलेका ८ खेलमध्ये ७ मा जित र १ बराबरी खेल्दै २१ अङ्क जोडेको छ र विश्वकपमा आफ्नो स्थान लगभग सुरक्षित गरिसकेको छ।
नर्वेले समूहको अन्तिम खेलमा अब इटालीसँग खेल्नेछ ।





























प्रतिक्रिया