यी हुन् एनपीएलको दोस्रो सिजनमा भित्रिएका विदेशी खेलाडीहरु [भिडियोसहित]

यी हुन् एनपीएलको दोस्रो सिजनमा भित्रिएका विदेशी खेलाडीहरु [भिडियोसहित]


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण यहि मंसिर १ गते अर्थात आजको ठिक ३ दिनपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ । पहिलो सिजनको सफलतापछि यसपटक प्रतियोगिता अझै भव्य र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नवनिर्मित पारापिट, आधुनिक फ्लडलाइट र सुधारिएको मैदानले खेललाई नयाँ उचाइ दिने आशा गरिएको छ । तर, यस सिजनको सबैभन्दा ठूलो आकर्षण भने विदेशी खेलाडीहरूको उपस्थिति नै हो । पहिलो सिजनमा सीमित संख्यामा मात्र स्टार खेलाडीहरू एनपीएल खेल्न नेपाल आएका थिए । तर यसपटक दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्याण्डलगायतका देशबाट विश्वस्तरीय खेलाडीहरू अनुबन्धित भएका छन् ।

एनपीएलका प्रत्येक टिमले अधिकतम ६ विदेशी खेलाडी अनुबन्ध गर्न सक्छन्, तर प्लेइङ इलेभनमा भने ४ जनासम्म मात्र राख्न पाउँछन् । दोस्रो सिजनमा हालसम्म ३० विदेशी खेलाडी एनपीएलका लागि अनुबन्ध भइसकेका छन् ।

काे कुन टोलीमा आबद्ध छन् ?

दक्षिण अफ्रिकाबाट यस सिजनमा पाँचजना खेलाडीहरूले एनपीएल खेल्ने पक्का भएका छन्, जसमध्ये फाफ डु प्लेसीस सबैभन्दा चलेको नाम हो । विराटनगर किंग्सबाट खेल्ने फाफ डु टी–२० क्रिकेटका ‘किङ’ नै मानिन्छन् । उनले दक्षिण अफ्रिकाका लागि ५० टी–२०आईमा १५ सय २८ रन बनाएका छन् भने समग्र ४२४ टी–२० खेलबाट ११ हजार ९ सय ६ रन र २ सय ११ क्याच लिएका छन् । आईपीएलमा चेन्नई सुपर किंग्सबाट उपाधि जितेका र सीपीएलमा सेन्ट लुसिया किंग्सलाई कप्तानी गर्दै च्याम्पियन बनाएका फाफ डुले बिग ब्यास, मेजर लिग क्रिकेट, पीएसएल जस्ता लिगहरूमा आफ्नो छाप छोडेका छन् । उनको आगमनले एनपीएलको स्तर नै उकास्ने अपेक्षा गरिएको छ ।

यस्तै, विराटनगरमा अर्का दक्षिण अफ्रिकाका स्टार टिममा मर्चेन्ट डे लाङ पनि अनुवन्ध भएका छन् । ३५ वर्षीय अग्ला पेसर मर्चेन्टले दक्षिण अफ्रिकाबाट खेलिसकेका छन् र समग्र १ सय ५५ टी–२० खेलबाट १ सय ७४ विकेट लिएका छन् । आईपीएल, सीपीएल, द हन्ड्रेड जस्ता लिगहरूमा अनुभवी बटुलिसकेका मर्चेन्टले विराटनगरको बलिङलाई धारिलो बनाउने विश्वास गरिएको छ ।

जनकपुर बोल्ट्सले पनि दुई दक्षिण अफ्रिकी बलर वेन पार्नेल र इमरान ताहिरलाई अनुबन्ध गरेको छ । पार्नेलले हालसम्म खेलेका ३६ टी–२०आई खेलमा ५९ विकेट र ३ सय ७४ रन बनाएका छन् भने समग्रमा ३ सय खेलबाट ३ सय १७ विकेट र २ हजार २ सय रन बनाएका छन् । आईपीएल, बीपीएल र द हन्ड्रेडमा खेलेका पार्नेल बहुमुखी प्रतिभाशाली खेलाडी हुन् ।

त्यस्तै अर्का ४६ वर्षीय लेग स्पिनर इमरान ताहिर भने क्रिकेटका ‘एभरग्रीन’ स्टार हुन् । दक्षिण अफ्रिकाका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका इमरानले २ सय ९३ विकेट लिएका छन् । समग्र ४ सय ४६ टी–२० खेलबाट भने उनले ५ सय ७० विकेट हात पारेका छन् । आईपीएलमा समग्र प्रतियोगितामै सर्वाधिक विकेट लिएर पर्पल क्याप समेत जितिसकेका ताहिरले पीएसएल, सीपीएल, बीबीएल, एमएलसी जस्ता लिगहरू खेलनुका साथै टोलीका लागि उपाधि नै जितेका छन् ।

काठमाडौं गोर्खाजबाट खेल्ने अर्का दक्षिण अफ्रिकी खेलाडी हुन्, विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस । दक्षिण अफ्रिकाको यू–१९ बाट खेलिसकेका उनी हाल इंग्ल्यान्डको नर्थम्टनसायरबाट काउन्टी क्रिकेट खेल्छन् । उनले समग्रमा ६० खेलबाट १ हजार ४ सय ४६ रन जोडेका छन् ।

यसैगरी अस्ट्रेलियाबाट यस संस्करणका लागि पाँचजना खेलाडीहरू नेपाल आएका छन्, जसमध्ये अधिकांश अस्ट्रेलियन लिग बिग ब्यास लिग अर्थात ‘बीबीएल’का स्टार खेलाडीहरु हुन् । सुदूरपश्चिम रोयल्सबाट खेल्ने क्रिस लिन टी–२०का ‘बुमर’ ब्याटर हुन् । अस्ट्रेलियाबाट १८ टी–२०आईमा २ सय ९१ रन बनाएका उनले समग्रमा ५ शतकसहित २ सय ९३ खेलबाट ८ हजार ३ सय ५५ रन जोडेका छन् । आईपीएलमा कोलकाता नाइट राइडर्सबाट लामो समय खेलेका लिनले बीबीएल, सीपीएलमा पनि चम्केका छन् ।

उनकै टिममा अर्का अस्ट्रेलियन स्टार जोश ब्राउन पनि जोडिएका छन् । बीबीएलमा मेलबर्न रेनेगेड्सबाट खेल्ने ब्राउनले सन् २०२३–२४ को सिजनमा ४१ बलमै शतक प्रहार गर्दै १४० रन बनाएका थिए । समग्र ४० टी–२० खेलबाट ९ सय ४५ रन बनाएका उनी अस्ट्रेलिया सिनियर टिमबाट डेब्यू गर्न बाँकी नै छन् तर पावर हिटरका रूपमा भने संसारभर चर्चित छन् ।

त्यसैगरी अस्ट्रेलियाका अर्का स्टार साम हिजलेट यस पटक विराटनगर किंग्सबाट खेल्दै छन् । अस्ट्रेलिया यू–१९ र एक ओडीआई खेलेका हिजलेटले बीबीएलमा ब्रिसबेन हिटबाट ५० खेलमा ८४० रन बनाएका छन् । त्यस्तै अस्ट्रेलियाका स्टार डार्सी शर्ट यस पटक लुम्बिनी लायन्समा आउँदै छन् । अस्ट्रेलियाबाट २३ टी–२०आईमा ६४२ रन बनाएका शर्टले समग्रमा १ सय ८० खेलबाट ५ हजार ४ सय १ रन बनाएका छन् ।

बीबीएलमा होबार्ट हुरिकेन्सबाट ७ सिजन खेलेका उनी दुईपटक प्लेयर अफ द सिजन बनेका थिए । त्यस्तै कर्णाली याक्सले अर्का अस्ट्रेलियन स्टार विलियम बोसिस्टोलाई रिटेन गरेको छ । गत सिजन ७ खेलमा १ सय ९४ रन र ९ विकेट लिएका बोसिस्टोले समग्र २१ टी–२० खेलबाट ४ सय रन र ३ विकेट लिएका छन् । बीपीएलमा पनि चम्केका उनी उत्कृष्ट अलराउन्डर खेलाडी हुन् ।

दक्षिण अफ्रिका र अस्ट्रेलियाबाट मात्र होइन यस संस्करणमा इंग्ल्यान्डबाट पनि ६ जना खेलाडीहरू एनपीएलका लागि अनुबन्ध भएका छन् । जसमध्ये डाविड मलान चितवन राइनोजका लागि अनुबन्ध भएका इंग्ल्यान्डका ठुला स्टार खेलाडी हुन् ।

३८ वर्षीय बायाँहाते ब्याटर मलानले इंग्ल्यान्डबाट ६२ टी–२०आई खेलमा १ हजार ८ सय ९२ रन बनाएका छन् । सन् २०२२ मा इङ्ल्याण्डले टी–२० विश्वकप जित्दाता च्याम्पियन टोलीका सदस्य मलानले समग्रमा ३ सय ८४ खेलबाट १० हजारभन्दा बढी रन बनाएका छन् ।

त्यसैगरी चितवनले नै इंग्ल्यान्डका अर्का स्टाररर रवि बोपारा र सेफ अली जैबलाई रिटेन गरेको छ । बोपाराले गत सिजन २ सय ८६ रन बनाएर दोस्रो सर्वाधिक रनकर्ता बनेका थिए । उनले आफ्नो करिअरका ४ सय ९४ खेलबाट ९ हजार ९ सय ४८ रन र २९२ विकेट लिएका छन् । बोपाराले आईपीएल, बीबीएल, पीएसएल जस्ता लिगहरू खेलेका छन् । अर्कोतर्फ सेफले गत सिजन चितवनका लागि समग्रमा ७५ रन र १२ विकेट लिएर उत्कृष्ट खेलाडी बनेका थिए । उनले आफ्नो करिअरमा खेलेका ९८ खेलबाट १ हजार ६ सय रन र १८ विकेट लिएका छन् ।

इंग्ल्यान्डबाट यस पटक काठमाडौं गोर्खाजका लागि जोन सिम्पसन र बेन चाल्र्सवर्थले पनि खेल्ने भएका छन् । विकेटकिपर सिम्पसनले १९५ खेलबाट ३ हजार भन्दा बढी रन बनाएका छन् भने चाल्र्सवर्थले ४४ खेलबाट ७ सय ७६ रन र ७ विकेट लिएका छन् ।

त्यस्तै पोखरा एभेन्जर्सका लागि इङ्ल्याण्डबाट एडम रोसिङटन खेल्दै छन् । १ सय ८६ खेलबाट उनले ३५ सयभन्दा बढी रन बनाएका विकेटकिपर रोसिङटनले द हन्ड्रेडमा १५ बलमै अर्धशतक बनाएर रेकर्ड नै राखेका छन् ।

दक्षिण अफ्रिकी, अस्ट्रेलिया र इङ्ल्याण्ड बाहेक यस संस्करणमा अन्य देशहरुबाट पनि विभिन्न स्टार खेलाडीहर अनुबन्धित भएका छन् जसमध्ये अफगानिस्तानका गुल्बादिन नाइब लुम्बिनी लायन्समा आवद्ध भएका छन् । अफगानिस्तानको कप्तानी सम्हालिसकेका नाइबले १ सय ६७ अन्तर्राष्ट्रिय खेलबाट २३ सय रन र समग्र १ सय ७० टी–२० खेलबाट २५ सय रन तथा १ सय १ विकेट लिएका छन् ।

त्यस्तै पाकिस्तानका सोहेल तनभिर चितवनमा रिटेन भएका छन् । गत सिजन १४ विकेट लिएका तनभिरले पाकिस्तानबाट ५७ टी–२०आई खेलमा ५४ विकेट र समग्रमा ३ सय ८८ खेलबाट ३ सय ८९ विकेट लिएका छन् ।

यस्तै न्युजिल्यान्डका मार्टिन गप्टिल विराटनगरमा रिटेन भएका छन् । उनले १२२ टी–२०आई खेल खेल्दै ३५ सय ३१ रन बनाएका छन् । यसैगरी न्युजिल्यान्डकै स्कट कुग्लेइन पनि सुदूरपश्चिममा रिटेन भएका छन् । गत सिजन सुदूरपश्चिमका लागि स्कटले ललित नारायणसँगै प्रतियोगिताकै सर्वाधिक विकेट लिएका थिए ।

न्युजिल्याण्डकै अलराउण्डर जिम्मी निसमले एनपीएलमा ‘सरप्राइज कमब्याक’ गरेका छन् । पहिलो सिजनमा च्याम्पियन जनकपुर बोल्ट्सबाट खेलेका निशमले दोस्रो सिजन पोखरा एभेन्जर्सबाट खेल्ने भएका हुन् । यो घोषणा आज बिहानै मात्र भएको हो । उनले जनकपुर बोल्ट्सलाई पहिलो सिजनको उपाधि दिलाउन ब्याट र बल दुवैमा अलराउण्ड प्रदर्शन गरेका थिए । उनी अघिल्लो सिजन सबैभन्दा धेरै रन बनाउने तेस्रो खेलाडीको सूचीमा थिए । जिम्मीले ८ खेलबाट २ सय ४३ रन बनाएका थिए । उनको उच्च स्कोर ६५ रन थियो । प्रतियोगितामा उनी सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी पनि बने । १ अर्धशतक पूरा गरेका उनले १४ चौका र २३ छक्का प्रहार गरेका थिए ।

यस्तै यस सिजन अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेल पनि काठमाडौं गोर्खाजमा अनुबन्ध भएका छन् । मिलिन्दले अहिलेसम्म खेलेका ९० खेलबाट १६ सय रन र १७ विकेट लिएका छन् ।

अलराउन्डर सन्नी पटेल डिपिएल र पिपिएलको उपाधि विजेता खेलाडी हुन् । अमेरिकाकै हर्मीत सिंह सुदूरपश्चिममा रिटेन भएका छन् । २५ टी–२०आई खेल खेलेका उनले २४ विकेट लिएका छन् भने २३५ रन बनाएका छन् । समग्र ६० टी–२० खेलमा उनले ५६ विकेट लिएका छन् । यस्तै श्रीलंकन मूलका लाहिरु मिलान्था पूनःजनकपुरमै आबद्ध भएका छन् । गत सिजन जनकपुरलाई उपाधि जिताउन मिलान्थाले निकै महत्वपूर्ण भूमिका निभाएका थिए ।

साथै अमेरिकाका अलराउन्डर शुभम रन्जानेले विराटनगर किङ्समा अनुबनध भएका छन् । ३१ वर्षीय रन्जाने दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् । उनले समग्र टी२० क्रिकेटमा ४८ खेल खेल्दा ६५४ रन बनाएका छन् भने २२ विकेट पनि लिएका छन् । यसैगरी अमेरिकाका सञ्जय कृष्णमूर्ति जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन् ।

यसैगरी नामिबियाका जेरार्ड एरासमस काठमाडौं गोर्खाजमा, स्कटल्यान्डका जर्ज मन्से विराटनगर किंगमा, स्कटल्यान्डकै मार्क वाट कर्णाली याक्समा, नेदरल्यान्ड्सका म्याक्स ओ’डाउड कर्णाली याक्समा, वेस्ट इन्डिजका रेमन रेइफर पोखरा एभेन्जर्समा, युगान्डाका अल्पेश रमजानी चितवन राइनोजमा, इटालीका थोमस ड्राका लुम्बिनी लायन्समा र भारतका प्रियांक पान्चाल कर्णाली याक्समा आवद्ध भएका छन् ।

यसरी हेर्दा यस पटकको एनपीएलमा अन्तर्राष्ट्रिय खेलाडीहरुले धमाका मच्चाउने छ । नेपाली माटोमा दर्जनभन्दा बढी विदेशी खेलाडीहरुले एनपीएलको दोस्रो सिजन खेल्दा नेपाली क्रिकेटलाई नयाँ उचाइ दिनेछ, जहाँ स्थानीय प्रतिभा र विश्वस्तरीय स्टारहरूको मिश्रणले दर्शकहरूलाई थप रोमाञ्चक खेलहरू प्रदान गर्नेछ ।

Skip This
Skip This
Logo