काठमाडौँ
सरकारको नीति तथा कार्यक्रम माथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आइतबार जवाफ दिने भएका छन् । संघीय संसदमा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम माथि जेठ ९, १० र ११ गते लगातार छलफल भयो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को बैठकमा जेठ १३ गते जवाफ दिने कार्यक्रम छ ।
हिजोको बैठकमा सांसदले नीति कार्यक्रम आफैँमा राम्रो वा नराम्रो नहुने भएकाले यसको सफल कार्यान्वयनका लागि जोड दिएका थिए । नेकपाका योगेश भट्टराईले सपना देख्नेले मात्र राष्ट्र बनाउन सक्ने भएकाले नीति कार्यक्रम सही भएको बताए । सोही पार्टीका घनश्याम भुसालले देश निर्माण गर्ने जिम्मा माक्र्सवादीको हातमा आएको बताउँदै पार्टीका सदस्यलाई उत्पादन कार्यमा परिचालन गर्नुपर्ने बताएका थिए ।
नेपाली काँग्रेसका प्रकाशमान सिंहले वर्तमान सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको बताउँदै नीति तथा कार्यक्रम पट्यारलाग्दो ‘प्रेमपत्र’ भएको बताए । सोही पार्टीका बालकृष्ण खाँणले नीति तथा कार्यक्रममा स्थानीयतहको विकासलाई कतै पनि नसमेटिएको बताए । प्रतिनिधिसभाको अर्को बैठक जेठ १३ आइतबार बिहान बजे ११ बजे बस्नेछ ।
रासस





























प्रतिक्रिया