महोत्तरी । बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ ।
सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनै-कुनै वर्ष मङ्सिर मध्यलगत्तै ह्वात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुन पहिले नै पूर्व तयारी बढाएको हो ।
“मधेसमा शीतलहर वर्षौंपिच्छे भोग्दै आइएको समस्या हो, क्षति हुन थालेपछि यसको व्यवस्थापन बढी खर्चिलो र समाल्न धौधौ पर्ने हुन्छ”, समितिका अध्यक्ष तथा जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्, “त्यसैले हामीले अहिलेदेखि नै पूर्वसचेतता र तयारीका काम थालेका छौँ ।”
समितिले जिल्लाका सबै नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, सामाजिक सङ्घसंस्था र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसहितको बृहत् बैठक सम्पन्न गरेर अहिलेदेखि नै क्षति हुन नदिनेगरी पूर्वतयारी थालेको उनको भनाइ छ । जिल्लामा यो समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने व्यवस्था छ ।
समितिले यसअघि शीतलहर प्रभावितहरूको उद्धार तथा राहतमा संस्थागत योगदान दिँदै आएका संस्थाहरू, विभिन्न व्यक्तित्व र निकायसँग तत्काल समन्वय गरी शीतलहर व्यवस्थापन योजना तयार गर्ने निर्णय गरेको यादवले जानकारी दिए । यसरी प्राप्त हुने योजना समितिबाट स्वीकृत गरी कार्यान्वयनमा लगिने उनको भनाइ छ ।
जिल्लाका सबै गैरसरकारी संस्थाहरूलाई यस काममा अभिप्रेरित गर्दै स्थानीयतहसँगको सहकार्यमा शीतलहर प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा जोडिने समितिले जनाएको छ । समितिको यो बैठक बिहीबार नै सम्पन्न भएको हो ।
“समितिको निर्णय सबै स्थानीयतह र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा भएको छ”, यादवले भने, “हामी बैठकका निर्णय र गरिन पर्ने पूर्वतयारीका कामबारे सम्बद्धपक्षसँग समन्वय गरेर अघि बढ्ने छौँ ।”
मधेसमा शीतलहरका बेला बर्सेनि मानवीय क्षति, स्वास्थ्य समस्या र कृषिबालीमा समेत ठूलो परिमाणमा नोक्सानी हुँदै आएको छ । यसपालि शीतलहरका बेला आवश्यक पर्ने दाउराको प्रबन्ध अहिलेदेखि नै गर्न सम्बद्ध पक्षलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी यादव बताउँछन् ।
समितिले शीतलहरबाट जोगिन गरिने पूर्वतयारीसँगै गत असोज तेस्रो साताको बाढी तथा डुबानबाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणको काम जिम्मेवार निकायले तत्काल प्राथमिकतासाथ सम्पन्न गर्न पर्ने निर्णयसमेत गरेको प्रजिअ यादवले बताए ।































प्रतिक्रिया