काठमाडौं । यही मंसिर १ गतेदेखि सुरु हुने दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा ३५ करोड भन्दा बढी रकम उठ्ने नेपाल क्रिकेट संघ (क्यान)ले अनुमान गरेको छ ।
पत्रकार सम्मेलनमार्फत क्यानका सचिव पारस खड्काले दिएकाे जानकारी अनुसार स्पोन्सरबाट १५ करोड ३० लाख, ८ टिमबाट ९ करोड, टिकटबाट ८ देखि १२ करोड र ओटीटी डिसहोम गोबाट ५ करोड ३० लाख रुपैयाँ उठ्ने अनुमान गरिएको छ । विश्वभरबाट ओटीटी डिसहोम गोबाट उठ्ने रकमबाट ७१ प्रतिशत क्यानले राख्नेछ भने २९ प्रतिशत डिसहोमले नै लिनेछ । यसबाहेक, लाइनर टिभीबाट न्यूनतम १ करोड उठ्ने अपेक्षा गरिएको छ ।
पहिलो सिजनमा युट्युबमा फ्री स्ट्रिमिङ सेवा उपलब्ध गराइएको थियो, तर यस सिजनमा भने आर्थिक विकासका लागि पेड मोडल अपनाइएको छ । यसका साथै एनपीएलको तयारी पूर्ण रूपमा सम्पन्न भएको छ।
पहिलो संस्करणको सफलतापछि दोस्रो सिजनलाई अझ भव्य र रोमाञ्चक बनाउन क्यानले कुनै कसर बाँकी राखेको छैन । फ्लडलाइट्समा रात्रीकालीन खेलहरू, अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूको सहभागिता र आर्थिक रूपमा मजबुत आधारले यो लिगलाई नेपाली खेलकुदको ‘फेस्टिभल अफ द हिमालयज’ को रूपमा स्थापित गरेको छ । क्यानले एनपीएलका लागि विशेषगरी मैदानको व्यवस्थापन, खेलाडी चयन, प्रसारण र सुरक्षा पक्षलाई प्राथमिकता दिइएको छ ।
अन्तर्राष्ट्रिय आकर्षणले यो लिगलाई थप चम्किलो बनाएको छ । दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस विराटनगर किंग्सबाट खेल्दैछन्, भने इङ्ल्यान्डका जेसन रोय पोखरा एभेन्जर्सको हिस्सा बनेका छन् ।
यसबाहेक, भारतीय कमेन्टेटर आकाश चोपडा कमेन्ट्री प्यानलमा सामेल भएका छन्, उनको हिन्दी भाषाको कमेन्ट्रीले प्रत्यक्ष प्रसारणलाई थप आकर्षक बनाउनेछ । त्यस्तै स्पोट्र्स प्रेजेन्टर जेस क्रो पनि आधिकारिक म्याच प्रेजेन्टरको रूपमा जोडिएकी छन् । यी नामहरूले एनपीएललाई क्षेत्रीय स्तरमा चर्चित बनाएका छन् र नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिनेछन् ।
यसैगरी एनपीएलको दोस्रो संस्करणमा पनि विजेताहरुको पुरस्कार राशिमा कुनै परिवर्तन गरिएको छैन। क्यानका अनुसार विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुने टोलीलाई १५ लाख रुपैया नै दिइने छ । त्यसैगरी व्यक्तिगत पुरस्कारहरू पनि प्रतियोगिता समाप्त हुना साथ घोषणा गरिने छ ।





























प्रतिक्रिया