काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद डा. सुनिल शर्मा आज बिराटनगरस्थित ऐतिहासिक कोइराला निवास पुगेका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भई महत्वपूर्ण धरोहर क्षतिग्रस्त बनेको उक्त निवासको अवलोकनमा शर्मा कोइराला निवास पुगेका हुन् । कोइराला निवासको अवलोकनपछि उनले लोकतन्त्रको जन्मयात्रासँग प्रत्यक्ष जोडिएको यो ऐतिहासिक घरमाथिको आक्रमणलाई अत्यन्तै दुर्भाग्यपूर्ण र अमानवीय घटनाको रुपमा प्रतिक्रिया दिएका छन्।
कोइराला निवास केवल एउटा घरको संरचना मात्र होइन—राणाशासनविरुद्धको विद्रोह सँगालिएको, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका अग्रजहरूले लोकतान्त्रिक परिवर्तिको मार्गचित्र तयार पारेको पवित्र ऐतिहासिक स्थल हो। यही घरमा अनगिन्ती गोप्य बैठकहरू बसे, यही घरबाट बहुदलीय आन्दोलनका निर्णयहरू जन्मिए, र यही घरले नेपालमा लोकतन्त्र संस्थागत हुनुलाई प्रत्यक्ष देखेको छ। यस्तो धरोहरमाथिको प्रहारले इतिहासमाथि मात्र होइन, राष्ट्रको लोकतान्त्रिक आत्मामाथिसमेत आघात पुर्याएको अनुभूति स्थानीयले पनि गरेका छन्।
यही सन्दर्भमा नेता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, “राणाहरुको जहानियाँ शासनविरुद्ध विद्रोहको आवाज उठाई लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै जनताको सर्वमान्यता स्थापित गर्न सुरुवाती विगुल फुक्न योगदान पुर्याएको परिवारको ऐतिहासिक धरोहरलाई ‘जेन्जी आन्दोलन’को नाममा मेटाउन खोज्ने छद्मवेशीहरूको प्रहार लोकतन्त्रप्रति नै आक्रमण थियो।”
उनले यस्ता धरोहरहरूलाई पुनर्जीवित गरी संग्रहालयको रूपमा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।































प्रतिक्रिया