काठमाडौं
दुग्ध विकास संस्थान (डीडीसी) का अध्यक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको दाबी गरेका छन् । संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनु पर्नेमा दुई दशमलव आठ प्रतिशत मात्र रहेको पाइएपछि संस्थानका अध्यक्ष रघु गौतमले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘दूधमा तरको परिमाण २.८ भेटियो । यो तोकिएको मापदण्ड भन्दा कम हो । यो ठगी हो नै’ अध्यक्ष गौतमले स्विकारे, ‘डीडीसीको दूधमा एक लाइन देखि १० लाइन सम्म तर मार्ने चलनै छ । लाइन मारेको तरबाट घिउ बनाएर बाहिरी बजारमा गुपचुप बिक्री हुने गरेको पाइयो ।’ वर्षौं देखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर छानबिन गर्न भने सकेको छैन । किसानबाट दूध खरिद, प्रशोधन र प्याकेजिङको समयमै छापा मारेर नमूना परीक्षण हुन नसकेका कारण यस्तो भएको सरोकारवालाको भनार्इ छ ।
प्रशोधित दूधमा कम्तीमा चिल्लोपन बाहेक ठोस पदार्थ (एसएनएफ) को मात्रा आठ र घृतांश वा तर (फ्याट) को मात्रा ३ प्रतिशत अनिवार्य हुनुपर्ने मापदण्ड बनाइएको छ । आठ प्रतिशत एसएनएफ र तीन प्रतिशत तर भएको दूधलाई मात्रै गुणस्तरीय मानिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए । ‘दूधमा यो भन्दा कम परिमाणमा एसएनएफ र फ्याट देखियो भने त्यो न्यून गुणस्तर भित्र पर्छ’, उनले भने, ‘यस्तो दूध र पानी खानु उस्तै हो ।’
विभिन्न समयमा डीडीसी र निजीक्षेत्रका डेरी उद्योगको दूधको गुणस्तर परीक्षण गर्दा धेरैपटक २.६ देखि २.९ प्रतिशत सम्मको हाराहारीमा मात्रै तरको उपस्थिति भेटिएको विभागको भनार्इ छ । डीडीसीका कर्मचारीले ‘नियतवश दूधको तरमा लाइन मारेर अनैतिक रूपमा आर्थिक उपार्जन गर्न सक्ने वरिष्ठ खाद्य वैज्ञानिक सुमन धितालले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया