काठमाडौं
सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘नीति’ आएको तर ‘कार्यक्रम’ नआएको टिप्पणी गरेको छ । छलफलमा भाग लिँदै विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा सिर्जनशीलता नदेखिएको बताए । उनले भने, ‘अब देशले स्थिरता र समुन्नतिको बाटो समातेको छ, दुई वर्ष लगातार उच्च आर्थिक वृद्धिदर हासिल गरिएको छ । अहिलेको सरकारलाई अवसर थियो तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता देखिएन ।’
नीति कार्यक्रम प्रति चिन्ता देखाउँदै देउवाले प्रश्न गरे, ‘सरकारसँग दूरदृष्टि नभएर हो या नचाहेर हो , यस्तो अनुकूलताको ऐतिहासिक अवसर त्यसै खेर फालिने त होइन ?’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरै पढ्दा कार्यक्रम नै नभेटेको उनले बताए । उनले भने, ‘अर्को वर्ष यो सम्मानित सदन फेरि बस्दा केको आधारमा यो सरकारलाई मूल्यांकन गर्ने ?’
जवाफदेहिताको कसी र मापदण्ड के हो भन्दै उनले एक वर्षमा यति गर्नेछु भनेर लेखिएको आफूले नभेटेको बताए । उनले थपे, ‘यहाँ लक्ष्य छन् तर स्पष्ट रूपमा लेखिएका कार्यक्रम छैनन्, योजनाबिनाका सपना केवल मनोकामना मात्र हुन्, सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफूलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठूल्ठूला जोखिम मोल्नुपर्छ । त्यो स्पिरिट म देख्दिनँ ।’
राजधानीबाट





























प्रतिक्रिया