काठमाडौं । नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन आज साँझ ४ बजेदेखि सुरु हुँदैछ । टियू अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा हुने यस प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र गत सिजनमा पाँचौं स्थानमा सीमित भएको काठमाडौं गोर्खाजबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाइटमा खेलाइने यो खेलका टिकटहरू सार्वजनिक भएको केही घण्टामै सोल्ड आउट भइसकेका छन्, जसले पनि यसको लोकप्रियता र उत्साहलाई प्रमाणित गरेको छ । यो सिजनमा कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमै खेलाइने छ । जसले दर्शकहरूलाई रात्रीकालीन क्रिकेटको मज्जा दिनेछ ।
गत सिजनमा जनकपुरले १० खेलमध्ये ७ जित हात पारेर च्याम्पियन बनेको थियो, जबकि काठमाडौंले ७ खेलमध्ये ४ जित निकाल्दा पनि नेट रन रेटका कारण प्लेअफसम्म पनि पुग्न सकेन । यसपटक दुवै टोलीले मजबुत स्क्वाड तयार पारेका छन्, जसमा अन्तर्राष्ट्रिय स्टारहरूको उपस्थितिले प्रतियोगितालाई थप रोचक बनाएको छ ।
जनकपुर बोल्ट्सलाई यस सिजनको पनि प्रमुख दाबेदार मानिएको छ, किनकी उनीहरूले गत सिजनको लयलाई निरन्तरता दिन मजबुत तयारी गरेका छन् । टोलीले हालै भारतको कोइम्बाटोरस्थित सुपरकिंग्स एकेडेमीमा ट्रेनिङ क्याम्प आयोजना गरेको थियो, जसले खेलाडीहरूको फिटनेस र स्किललाई निखारेको छ । प्रमुख प्रशिक्षकका रूपमा वेस्ट इन्डिजका लेजेन्ड शिवनारायण चन्द्रपाललाई नियुक्त गरेपछि टोलीको रणनीति थप मजबुत भएको छ । चन्द्रपालको अनुभवले दबाबपूर्ण अवस्थामा खेलाडीहरूलाई प्रखर प्रदर्शन गर्न सिकाउने अपेक्षा छ ।
टोलीको स्क्वाडमा अनुभव र युवा जोशको उत्कृष्ट सन्तुलन देखिन्छ । कप्तान अनिल शाहले टोलीको नेतृत्व गर्दैछन्, जससँग विकेटकिपर तथा मार्की प्लेयर आसिफ शेख, ललित नारायण राजबंशी, रूपेश सिंह, किशोर महतो, शुभ कन्साकर जस्ता रिटेन खेलाडीहरू छन् ।
विदेशी खेलाडीहरूमा गत सिजनका एमभीपी लाहिरु मिलान्था (श्रीलंका) लाई रिटेन गरिएको छ, जसले १० खेलमा २९३ रन बनाएर सर्वाधिक रनकर्ता बनेका थिए । फाइनलमा उनको अर्धशतकले जनकपुरलाई च्याम्पियन नै बनाएको थियो । नयाँ अनुबन्धमा दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल र स्पिनर इमरान ताहिर पनि छन्, जसले बलिङलाई धारिलो बनाउनेछन् । अन्य विदेशीहरूमा निकोल लोफ्टी–ईटन, संजय कृष्णमूर्ति, लाहिरु समरकून जस्ता खेलाडीहरू छन् ।
आजको खेलमा जनकपुरका लागि ब्याटिङको ब्याकबोनमा मिलान्था नै हुनेछन् । गत सिजन खेलेका १० खेलमा ४१.८५ को औसतमा २९३ रन बनाए प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बनेका लाहिरुले आजको खेलमा पनि सोही प्रदर्शन दोहाेर्याउन सक्ने आंकलन गरिएको छ ।
त्यस्तै जनकपुरका प्रभाव छाड्न सक्ने खेलाडीका रुपमा ललित राजवंशीलाई हेरिएको छ । गत सिजन ५.३२ इकोनोमीमा १७ विकेटसहित प्रतियोगिताकै सर्वाधिक विकेट टेकर बनेका ललितले काठमाडौं गोर्खाजको ब्याटिङ लाइनअफ ध्वस्त पार्न सक्ने ल्याकत राख्छन् । यदि उनी काठमाडौंको विकेट लिन असक्षम भएको खण्डमा पनि काठमाडौंको मिडल अर्डरलाई मेडन ओभरमा परिणत गर्न सक्ने खेलाडीका रुपमा हेरिएको छ ।
त्यसैगरी आजको खेलमा जनकपुरका लागि अलराउन्डरको भूमिका वेन पार्नेलले निभाउन सक्ने खेलाडीका रुपमा हेरिएको छ । पावरप्लेमा विकेट लिँदै लेट अर्डरमा रन जोड्न सिप्पालु वेन पार्नेलले जनकपुरका लागि जुनसुकै समय जादुमयी प्रदर्शन गर्न सक्षम छन् ।
तर यता गत सिजनमा नेट रन रेटका कारण प्लेअफबाटै बाहिरिएको काठमाडौं गोर्खाजले यसपटक मजबुत कमब्याक गर्ने तयारी गरेको छ । मुलपानी मैदानमा भएको अभ्यास खेलमा विराटनगर किंग्सलाई १०१ रनले हराएपछि टोलीको आत्मविश्वास उच्च देखिन्छ । साथै अन्य अभ्यास खेलमा पनि एकपक्षीय जित दर्ता गरेको थियो । मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देशाई र सहायक प्रशिक्षकमा बसन्त शाही अनुबन्ध भएपछि टोलीको रणनीति निकै बलियो देखिएको छ ।
स्क्वाडमा कप्तान करण केसीसहित भिम सार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठलाई रिटेन गरेको काठमाडौंले अक्सनबाट आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुलबहादुर थापा, सन्तोष यादव र ट्यालेन्ट हन्टबाट नेत्रजन शाह अनुबन्धित गरेको थियो ।
विदेशी खेलाडीहरूमा नामिबियाका कप्तान जेरार्ड एरास्मस, अमेरिकाका मिलिन्द कुमार, इङ्ल्यान्डका बेन चाल्र्सवर्थ, विकेटकिपर जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस र अमेरिकाका सन्नी पटेललाई नियुक्त गरेको काठमाडौं आजको खेलमा मात्र होइन समग्र प्रतियोगितामै सनसनी नतिजा निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छ ।
काठमाडौंका लागि आजको खेलमा जेरार्ड एरास्मसलाई अलराउन्डर भूमिका निर्वाह गर्न सक्ने खेलाडीका रुपमा हेरिएको छ । गत सिजनमा पनि गोर्खाजबाटै खेलेका उनले टोलीलाई आवश्यक परेको बेला ब्याट र बल दुबैबाट योगदान दिन सक्छन् । तसर्थ जेरार्डलाई ‘गेम चेन्जर’ खेलाडीका रुपमा हेरिएको छ । त्यसैगरी काठमाडौंका लागि प्रभाव पार्न सक्ने खेलाडीका रुपमा कप्तान केसीलाई हेरिएको छ । गत सिजन उनकै नेतृत्वमा काठमाडौंले ४ खेलमा जित हात परेको थियो । अझ त्यसमाथी फ्लडलाइटमा पेस बलिङ प्रभावी हुने भएकाले जनकपुरको टप अर्डरलाई करणले ध्वस्त पार्न सक्छन् ।
त्यसैगरी काठमाडौंका लागि आजको खेलमा प्रमुख विकेट टेकरका रपमा शाहब आलमलाई हेरिएको छ । गत सिजनमा टोलीका लागि सर्वाधिक विकेट लिएका शाहब आलमले आजको खेलमा मध्य ओभरहरूमा जनकपुरलाई दबाब सिर्जना गर्न सक्छन् ।
यसरी हेर्दा उद्घाटन खेल निकै रोचक हुनेछ किनकी जनकपुरको अनुभवी बलिङ आक्रमण इमरान ताहिर, पार्नेल र ललितले काठमाडौंको ब्याटिङलाई चुनौती दिनेछ भने काठमाडौंको अलराउन्डरहरू एरास्मस र करण केसीले जनकपुरलाई दबाब दिन सक्छन् । अघिल्लो सिजनको विजेता भएकाले मनोवैज्ञानिक रुपमा जनकपुर केही आत्मविश्वासी देखिएता पनि काठमाडौंको हालको फर्मले जनकपुरलाई सरप्राइज पनि दिन सक्छ । यस्तोमा आज हुने उद्घाटन खेलले एनपीएलको दोस्रो सिजनलाई नै परिभाषित गर्न सक्छ ।































प्रतिक्रिया