इटाली। नर्वेले सन् १९९८ पछि पहिलोपटक फिफा विश्वकपमा सीधा स्थान सुरक्षित गरेको छ।
फिफा विश्वकप २०२६ को युरोपेली छनोटअन्तर्गत समूह ‘आई’ को निर्णायक खेलमा नर्वेले चार पटकको विश्व विजेता इटालीलाई उसकै घरेलु मैदान सान सिरोमा ४-१ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपमा सीधा स्थान सुरक्षित गरेको हाे ।
यो नतिजाले इटालीको विश्वकपमा सीधा छनोट हुने सपनामा पूर्णविराम लगाएको छ र लगातार तेस्रो पटक पनि विश्वकपमा पुग्न इटाली अब प्लेअफमा निर्भर रहनुपर्ने भएको छ।
खेलको ११ औं मिनेटमा युवा स्ट्राइकर फ्रान्सेस्को पिओ एस्पोसिटोले गोल गर्दै इटालीलाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा इटालीले यही अग्रता कायम राख्यो।
तर, दोस्रो हाफमा नर्वेले उत्कृष्ट पुनरागमन गर्यो । ६३ औं मिनेटमा युवा विङ्गर एन्टोनियो नुसाले सशक्त प्रहार गर्दै गोल गरेर खेललाई १-१ को बराबरीमा ल्याए। म्यान्चेस्टर सिटीका स्ट्राइकर अर्लिङ हाल्यान्डले ७८ औं र ७९ औं मिनेटमा लगातार दुई गोल गर्दै इटालीको आशा समाप्त पारे। उनको पहिलो गोल ओस्कार बबको उत्कृष्ट क्रसमा सुन्दर भली प्रहार थियो भने दोस्रो गोल नजिकबाट फिनिस गरिएको कुशल ट्याप-इन थियो।
उनले यो छनोट अभियानमा कूल १६ गोल गरेर युरोपेली छनोटको एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने रोबर्ट लेवान्डोस्कीको रेकर्डको बराबरी गरेका छन्।
इन्जुरी समयमा वैकल्पिक खेलाडी जोर्गेन स्ट्रान्ड लार्सन ले गोल गरेर नर्वेको ४-१ को जित निश्चित गरे।
यस जितसँगै नर्वेले समूह ‘आई’ मा शत प्रतिशत जितको रेकर्ड कायम गर्दै शीर्ष स्थानमा रहन सफल भएको छ।
सन् २०१८ र २०२२ संस्करणमा विश्वकप गुमाइसकेको इटालीलाई यस पटक सीधा छनोट हुनका लागि नर्वेलाई ठूलो गोल अन्तरले पराजित गर्नुपर्ने थियो, तर परिणाम उल्टो आयो। समूहमा दोस्रो स्थानमा रहेपछि अब इटालीले प्लेअफ खेल्नुपर्नेछ ।





























प्रतिक्रिया