चितवन
भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई पनि ‘पिट बोमा’ (सानो खोर) मा राखिएको छ । चीन पठाउनका लागि अन्य गैँडाको बच्चा राखिएको बोमा नजिकै अर्को बोमा बनाएर उसलाई पनि बोमामा राख्न शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।
अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पु¥याएको थियो । गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा ल्याएर पालनपोषण गरिँदै आइएको थियो । अन्य तीन वटा गैँडाको बच्चालाई हालै मात्रै निकुञ्जबाट नियन्त्रणमा लिई बानी पार्न पिट बोमामा राखिएको छ । सोही नजिक अर्को बोमा तयार गरी भारतबाट उद्धार गरिएको केटोलाई समेत राख्न थालिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल केटो तन्दुरुस्त रहेको बताउँछन् । उनले निकुञ्जबाट हालै ल्याइएका अन्य गैँडा समेत तन्दुरुस्त रहेको र सबै खानेकुरा सजिलै खान थालेको जानकारी दिए । अहिले यहाँ राखिएका चारवटै गैँडालाई दूध, फलफूल, घाँस लगायत खानेकुरा दिएर नियमित अनुगमन गर्ने गरिएको छ । पशु चिकित्सक सहितको टोलीले ती गैँडाको निगरानी गरिरहेको छ ।
सरकारी निर्णय अनुसार चीनलाई दुई जोडी गैँडा नेपालले उपहार दिँदैछ । एक जोडी गैँडा भने आगामी असार सम्ममा पठाइने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । विभिन्न देशमा गरेर नेपालले अहिले सम्म दुई दर्जन भन्दा बढी गैँडा उपहार दिइसकेको छ ।
रासस





























प्रतिक्रिया