एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग एनपीएलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको एकमात्र खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले स्तब्ध पार्दै आफ्नो दबदबा कायम राखेको हो । यसअघि सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो ।

काठमाडौँविरुद्ध ब्याटिङ नचलेको सुदूरपश्चिमले आज भने जादू चलायो । सुदूरपश्चिमले दिएको १९४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोखरा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७५ रन मात्रै बनाउन सक्यो । पोखराको ब्याटिङतर्फ कप्तान कुशल भुर्तेल र न्युजिल्याण्डका अलराउन्डर जेम्स नीशम ले शानदार प्रदर्शन गरे । कप्तान भुर्तेलले आक्रामक ब्याटिङ गर्दै मात्र ३२ बलमा ५३ रन बनाए। जारी सिजनमा कुशलको यो लगातार दोस्रो अर्धशतक हो । उनले विराटनगर किंग्ससँगको खेलमा ३१ बलमा ५९ रन बनाएका थिए ।

नीशमले पनि आफ्नो लय कायम राख्दै मात्र २५ बलमा ४७ रन को विस्फोटक पारी खेलेका थिए। अन्तिममा ड्यान डौथवेटले १३ बलमा ३१ रन जोड्दै आशा जगाएका थिए। यद्यपि, यी महत्त्वपूर्ण ब्याट्सम्यान आउट भएपछि पोखराको रन गतिमा ब्रेक लाग्यो र टोली जितबाट चुक्यो ।

पोखरालाई रोक्न सुदूरपश्चिमका बलर हरमित सिंहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । सुदूरपश्चिमको यो विशाल स्कोरमा विदेशी खेलाडी जोश ब्राउन र उपकप्तान विनोद भण्डारीको ब्याटिङ महत्त्वपूर्ण रह्यो।

ओपनर जोश ब्राउनको विष्फोटक अर्धशतक प्रहार गरे । जोश ब्राउनले मात्र ३५ बल खेल्दै ६८ रन बनाए । उनले आफ्नो पारीमा ६ चौका र ५ छक्का प्रहार गरे, जसले टोलीलाई आक्रामक सुरुवात दिलायो।

साथै विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाउँदै एक छेउबाट पारीलाई सम्हाले।अस्ट्रेलियन खेलाडी क्रिस लिनले मात्र १३ बलमा ३१ रनको छिटो पारी खेले। यता सुरुवातमा महँगो साबित भए पनि, पोखराका बलरहरूले मध्य ओभरहरूमा उत्कृष्ट पुनरागमन गरे। ड्यान डाउथवेट र जिमी नीशमले २ २ विकेट लिएर रोयल्सको रन गतिमा ब्रेक लगाए। यद्यपी हार भाग्न बाध्य भयो ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराको यो लगातार दोस्रो हार हो ।

Logo