सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ । जसअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका जो कोही व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने प्रक्रिया कामपाले अघि बढाइसकेको जनाएको छ ।

यसरी उपचार गर्नका लागि कामपाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग चालु आर्थिक वर्षका लागि सम्झौता गरिसकेको कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । उनले पारिवारिक समस्याका कारण आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरू पनि महानगरपालिका छन् भन्ने महसुस हुन थाल्नु सुखद नतिजाको प्रारम्भ भएको बताए ।

कामपाको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आवश्यक पर्नेले सजिलै सेवा प्राप्त गर्ने र सम्भावित दुरुपयोग रोक्ने प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गरे ।

अस्पतालका अध्यक्ष डा मनोजमान श्रेष्ठले भने, “स्वास्थ्योपचारमा महत्व नदिने पाका व्यक्तिहरू उपचारका लागि आउन थाल्नु, समुदायका मानिस उपचारका बारेमा सोधखोज गर्न थाल्नु, कामपाको सहयोग प्राप्त भएको नतिजा हो ।”

सम्झौताबमोजिम कामपाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । त्यस्तै लैङ्गिक हिंसामा परेका व्यक्ति, बेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नुपर्ने कर्मचारीका लागि सामाजिक विकास विभागको सिफारिस आवश्यक पर्नेेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहाेर्नेछ ।

उपचारका लागि महानगरपालिकाले चालु आवमा रु एक करोड ५० लाख विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर रु एक करोड ८० लाख बराबरको उपचार सेवा उपलब्ध गराउने कामपाले जानकारी दिएको छ । सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचयपत्र, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता अनिवार्य आवश्यक कामपाले जनाएको छ ।

Skip This
Skip This
Logo