काठमाडौँ
सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ ।
उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको व्यवस्थापनको अधिकार पाएको ल्होत्से बहुउद्देश्यीय संस्थाको एकाधिकारले यात्रु मारमा पर्न थालेका छन् । यसअघि यातायात समितिले काउन्टर खोलेर टिकट काट्ने गरेकामा आज देखि ल्होत्सेले मात्र टिकट काट्न थालेको छ । ल्होत्सेले वि.सं. २०५७ मा ४५ वर्षका लागि नयाँ बसपार्कको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो । ल्होत्सेलाई काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रको सरसफाइ लगायत व्यवस्थापनको काम दिएको हो ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने ल्होत्सेले टिकट काट्न नपाउने बताउँछन् । “सम्झौतापत्रमा ल्होत्सेले टिकट काट्न पाउने उल्लेख छैन, टिकट काटेर यात्रुसँग बढी भाडा असुलेको भए यस्तो काम तत्काल बन्द गर्छौँ”–उनले भने । यस सम्बन्धमा ल्होत्सेका अधिकारी भने सम्पर्कमा आउन चाहेनन् । ल्होत्सेले तोकिए भन्दा तीन प्रतिशत बढी भाडा उठाउन थालेको यातायात सुधारका पक्षमा काम गर्दै आएका रामबहादुर थापा बताउँछन् । यातायात व्यवसायी भने सबै कामको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारकै रहेको बताउँछन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया