काठमाडौँ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी काभ्रेको धुलिखेलमा आन्तरिक विमानस्थल निर्माण गर्ने दौडधुपमा लागे पनि व्यावहारिक हिसाबमा यो काम त्यति सहज छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान हवाई ट्राफिक चाप कम गर्ने उद्देश्य लिएर काभ्रेमा आन्तरिक उडानका जहाज व्यवस्थापन गर्न विमानस्थल निर्माण गर्न अगाडि बढेको मन्त्री अधिकारीले बताउँदै आएका छन् । यही सेरोफेरोमा मन्त्री अधिकारीले मंगलबार आन्तरिक विमानस्थल निर्माण गर्ने सम्भावना भएका काभ्रेका तीन ठाउँको स्थलगत अवलोकन पनि गरे ।
तर के त्रिभुवन विमानस्थलको आन्तरिक उडान–अवतरण सर्लक्कै हटाएर काभ्रे लैजाँदा काठमाडौंबाट मुलुकका दर्जनौं गन्तव्य जाने लाखौं यात्रुले सहज महसुस गर्लान् ? ‘त्रिभुवन विमानस्थलको आन्तरिक उडान–अवतरणको विकल्प काभ्रे व्यावहारिक रूपमा सम्भव छैन,’ निजी वायुसेवा कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले जान्ने हो भने हिमाली र दुर्गम भेगका सम्पूर्ण उडान काभ्रेको सट्टा रामेछापको मन्थली विमानस्थलबाट सञ्चालन गर्नु सबैभन्दा उपयुक्त हुनेछ ।’
पर्यटन मन्त्रालय र प्राधिकरणले त्रिभुवन विमानस्थल भइरहेको हवाई चापबाट जहाज उडान–अवतरणमा लामो समय ‘होल्ड’ गर्नुपर्ने, उडान ढिलो हुने, डाइभर्टदेखि रद्दसम्मको अवस्था बढ्न थालेपछि आन्तरिक विमानस्थलको विकल्प स्वरूप काभ्रेको बनेपा नगरपालिकास्थित नागिडाँडा तथा धुलिखेल नगरपालिकाको चिसापानी ठुलीचौर ,देविस्थान ठुलीचौर मध्ये एकमा विमानस्थल निर्माण गर्ने तयारी अगाडि बढाएका छन् । यी मध्ये चिसापानी ठुलीचौरमा विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न ५ अर्ब रुपैयाँ लाग्ने मन्त्रालय र प्राधिकरणको अनुमान छ । नागिडाँडामा अधिकतम १ हजार २ सय मिटरको धावनमार्ग र चिसापानी ठुलीचौरमा ३ हजार ५ सय फिट सम्मको धावनमार्ग बनाउन सकिने प्राधिकरणको भनाइ छ ।
‘सरकारले जग्गा अधिग्रहण गर्न ५ अर्ब लाग्छ भने पनि निजी जग्गा धेरै भएका कारण दोब्बर खर्च लाग्न सक्छ,’ बस्नेतले भने, ‘त्यसमाथि पाँच सय मिटर माटो भरेर धावनमार्ग बनाउनु पर्ने देखिन्छ । काभ्रेमा विमानस्थल बनाउन अगाडि सर्नु भनेको ‘भालुको पुच्छर’ समातेको जस्तै हुने निश्चित छ ।’
नागरिकबाट





























प्रतिक्रिया