काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्समाथि ७७ रनको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको बिराटनगर किङ्सको टोली १४.१ ओभरमा मात्र ७८ रन बनाउँदै अलआउट हुन पुग्यो।
बिराटनगर किङ्सको ब्याटिङ शुरुआतदेखि नै धर्मराएको थियो। टोलीका लागि विदेशी खेलाडी फाफ डु प्लेसिसले मात्र केही संघर्ष गर्दै सर्वाधिक ३६ रन बनाए। उनीबाहेक मार्चेन्ट डे लाङ्गेले १५ तथा बसिर अहमदले १२ रनको योगदान दिए। कप्तान सन्दीप लामिछानेले ५ रन मात्र बनाए।
बिराटनगरका प्रारम्भिक ब्याटर साम हेजलेट र मार्टिन गुप्टिल क्रमशः शून्य र २ रनमै आउट भएपछि टोली ठूलो दबाबमा आएको थियो।
बिराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिम रोयल्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। स्कट कुगलेइन र हरमीत सिंहले ३-३ ओभर बलिङ गर्दै मात्र ९ र २० रन खर्चेर २-२ विकेट लिए।
अभिनाष बोहोराले पनि महत्वपूर्ण २ विकेट लिए। हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन जोडेको थियाे । सुदूर पश्चिमको इनिङ्सलाई अनुभवी ब्याट्सम्यान विनोद भण्डारीले बलियो आधार दिए। ओपनिङमा आएका उनले ५२ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित सर्वाधिक ६३ रनको शानदार अर्धशतकीय पारी खेले।
यस्तै, अरिफ शेखले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १३ बलमा २ चौका र १ छक्का प्रहारसहित नटआउट २० रन जोड्दा सेल्डन ज्याक्सनले ११ बलमा २० रन र हरमित सिंहले ११ बलमा १४ रनको योगदान दिए।
विराटनगर किंग्सका लागि बलर प्रतीश जीसी, मर्चन्ट डी लाङ्गेले समान २२ विके६ लिएका थिए । सूर्य तामाङले ४ ओभरमा मात्र १३ रन खर्चेर १ महत्त्वपूर्ण विकेट लिए भने कप्तान सन्दीप लामिछानेले विकेट लिन नसकेपनि कसिलो बलिङ गरेका थिए ।
यस जितसँगै सुदूरपश्चिम रोयल्स सिधै फाइनलमा प्रवेश गरेको छ। पराजित बिराटनगर किङ्सले भने अब फाइनल प्रवेशका लागि एलिमिनेटर राउन्डको विजेतासँग खेल्ने अर्को अवसर पाउनेछ।





























प्रतिक्रिया