काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका ११ वटा अस्पतालको व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी भएकाले दुई दलबीच भागबन्डा भएको भएको हो। सत्तारुढ गठबन्धनका दुई ठूला दल कांग्रेस र एमालेले अस्पतालहरू बाँडफाँड गरेर अध्यक्ष नियुक्त गरेका छन् ।
कांग्रेसले ६ वटा अस्पतालको अध्यक्ष पाएको छ भने एमालेले ५ अस्पतालको जिम्मेवारी पाएको छ द। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यी नियुक्तिहरू निर्णय गरेको हो। कांग्रेस कोटा बाट नियुक्त भएका अध्यक्षहरूमा मध्यबिन्दु अस्पताल (नवलपुर)मा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकालीलमजुङ अस्पतालमा विजय गुरुङ ,पर्वत अस्पतालमा यामबहादुर परियार शिव,दमौली अस्पताल (तनहुँ)मा कमलामोहन वाग्ले र बुर्तिबाङ अस्पताल (बागलुङ)मा कमल भुसाल लाई जिम्मेवारी दिइएको छ ।
यस्तै एमालेको कोटाबाट धौलागिरि प्रादेशिक अस्पताल (बागलुङ)मा श्रीप्रसाद शर्मा,जनरल तथा सरुवा रोग अस्पताल (लेखनाथ, पोखरा)मा ऋषिराज जमरकट्टेल, स्याङ्जा अस्पतालमा डिलकुमार भुजेल, बेनी अस्पताल (म्याग्दी)मा डेकबहादुर बानियाँ र मनाङ अस्पतालमा अर्विण गुरुङ लाई जिम्मेवारी दिइएको हो । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नियुक्ति योग्यताका आधारमा भएको दाबी गरेका छन्। उनले भने, “व्यक्तिको योग्यता र सम्बन्धित जिल्लाको स्थायी बासिन्दा हुनुपर्ने मापदण्डका आधारमा नियुक्त गरिएको हो। पार्टी आस्थालाई अस्वभाविक मान्नु हुँदैन।”
नयाँ गठन आदेशअनुसार ठूला अस्पतालहरूमा स्नातक उत्तीर्ण र जिल्लाकै बासिन्दा हुनुपर्ने प्रावधान छ । यसअघि पुराना समिति भंग गरिएको थियो, जसमा माओवादी लगायतका दलहरूको भागवण्डा रहेको थियो ।
गण्डकीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् भने एमालेका खगराज अधिकारीको नेतृत्वमा ४ मन्त्रालयसहित सरकारमा सहभागी छ । बाँकी अस्पतालहरूको समिति पनि छिट्टै टुंग्याउने तयारी छ ।































प्रतिक्रिया