काठमाडौं
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त नियमावली सम्बन्धी सहमति जुटेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको संयुक्त बैठकले संयुक्त नियमावलीमा सहमति जुटाएको हो । संसदीय सुनुवाइ समिति १५ सदस्यीय हुने र त्यसमा १२ जना प्रतिनिधिसभा र तीन जना राष्ट्रिय सभाका सांसद रहने नियमावलीमा राखिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।
संघीय संसद सचिवालयका सहसचिव मुरारी महतले राज्यको निर्देशक सिद्धान्त अनुगमन समिति १५ सदस्यीय बनाउने सहमति जुटेको बताए । उनका अनुसार सो समिति पनि १५ सदस्यीय हुनेछ । जसमा राष्ट्रिय सभाका तीनजना र प्रतिनिधिसभाका १२ जना सांसद सदस्य हुनेछन् । संघीय संसद्लाई राष्ट्रपतिले सम्बोधन गर्दा अपनाउनु पर्ने नियम, प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दा सभामुखले अध्यक्षता गर्ने लगायत विषय संयुक्त नियमावलीमा समावेश गरिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सदस्य लक्ष्मणलाल कर्णले बताए ।
प्रतिनिधिसभा वा राष्ट्रिय सभा मध्ये एक सभामा कुनै विधेयक पारित हुने र अर्को सभामा सोही विधेयक अस्वीकृत भएमा छलफलका लागि संयुक्त सभामा जाने व्यवस्था छ । सो अवस्थामा संसद्को तल्लो र माथिल्लो सदनमा देखिएका विवाद समाधान गर्न गठन गरिने संयुक्त समिति सञ्चालन सम्बन्धी व्यवस्था संयुक्त नियमावलीमा राखिएको छ ।
संघीय संसदमा संसदीय समिति कति सदस्यीय रहने भन्नेमा विवाद कायमै छ । विषयगत समिति गठनमै नियमावली मस्यौदा समितिले सहमति जुटाउन सकेको छैन । संघीय संसद्का सांसद कुन अवस्थामा निलम्बन भएको मानिने र प्रतिनिधिसभामा कतिवटा समिति गठन गर्ने भन्नेमा समिति टुंगोमा पुगि सकेको छैन ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया