पार्टीलाई सामूहिक नेतृत्वका आधारमा अघि बढाउन अध्यक्षमा दाबी गरेको हुँ : पोखरेल

पार्टीलाई सामूहिक नेतृत्वका आधारमा अघि बढाउन अध्यक्षमा दाबी गरेको हुँ : पोखरेल

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वका आधारमा अघि बढाउन आफू अध्यक्ष पदमा दाबीका साथ उभिएको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले पार्टीलाई ठीक ढंगले चलाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे।

उनले पार्टीभित्र वैचारिक, संगठनात्मक र नेतृत्व तहमा पुनर्गठन–पुनर्व्यवस्था अपरिहार्य भएको उल्लेख गर्दै भने, “पार्टीलाई समयअनुसार थप अपडेटेड बनाउनु आजको आवश्यकता हो।” महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्दै पोखरेलले विचार, संगठन र कार्यसम्पादन सबै क्षेत्रमा सुधार बिना एमाले सशक्त बन्न नसक्ने धारणा राखे।

अध्यक्ष पदको प्रतिस्पर्धाबारे बोल्दै पोखरेलले चुनावमा प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया भएको बताए। “प्रतिस्पर्धालाई नकारात्मक रूपमा लिनु हुँदैन, यो पार्टीको लोकतान्त्रिक अभ्यास हो,” उनको भनाइ थियो।

एमाले महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने क्रममा पोखरेलको यो अभिव्यक्तिलाई अध्यक्षीय दौडमा सक्रिय संकेतका रूपमा हेरिएको छ।

Logo