दार्चुला
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचस्थित चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित ३० मेगावाट बिजुलीले देशलाई उज्यालो बनाएको छ । तर दार्चुला सदरमुकाम खलंगा भने अँध्यारोमै छ । अझ नेपाल विद्युत प्राधिकरण, दार्चुला शाखाले भारतबाट बिजुली लिएर घाटाको कारोबार गरिरहेको छ ।
भारतबाट महंगोमा लिएर सस्तोमा बेचि राख्नु परेको प्राधिकरण दार्चुला शाखाका प्रमुख दयाराम शाहले बताए । ‘घाटामा उपभोक्तालाई उपलब्ध गराउँदै आएका छौँ । तैपनि नियमित नहुने समस्या छ,’ शाहले भने । चमेलियाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय प्रसारण लाइन सदरमुकाम खलंगामा भने अझै पुगेको छैन ।
खलंगा र आसपासको क्षेत्रमा सात हजार उपभोक्ता छन् । उनीहरूका लागि प्राधिकरणले तीन फिडरमा भारतबाट बिजुली ल्याउने गरेको छ । २५ किलोमिटर टाढाको जौलजिबीबाट आउने बिजुली खलंगामा आपूर्ति हुन्छ । त्यस्तै उत्तरी क्षेत्र हुती र दक्षिणी क्षेत्र लालीबाट पनि बिजुली भित्र्याइएको छ । भारतबाट आउने बिजुली नियमित पनि छैन । कति वेला जाने हो र कति वेला आउने हो भन्ने यकिन नहुने गरेको उपभोक्ताको गुनासो छ । पटक–पटक विद्युत अवरुद्ध हुने गरेको छ ।
भारतबाट नेपाल सम्म पुग्ने लामो प्रसारण लाइन भएकाले समस्या आउने गरेको प्राधिकरण दार्चुला शाखा प्रमुख शाहले बताए । ‘नेपाल तिरको लाइनमा खराबी आउँदा खासै चासो देखाउँदैनन्, भारत गएर हामीले मर्मत गर्न मिल्दैन,’ शाहले भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया