काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै जाँदा अध्यक्ष केपी शर्मा ओली समूहभित्र असन्तुष्टि सतहमा आएको छ। असन्तुष्टिको असर कोशी प्रदेशमा स्पष्ट देखिएको छ, जहाँ प्रदेश मन्त्रीदेखि सांसदसम्मले केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दिएका छन्।
ओली पक्षले सार्वजनिक गरेको आधिकारिक सूचीमा नाम नपरेपछि आधा दर्जनभन्दा बढी नेताले बागी रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। यसमा केही पूर्व केन्द्रीय सदस्यसमेत रहेका छन्। ओली समूहको केन्द्रीय सदस्य सूचीमा परेका संखुवासभाका राजेन्द्र गौतमले उपमहासचिवमा र झापाका अग्नि खरेलले सचिवमा उम्मेदवारी दिएका थिए। तर गौतमले अन्तिम नामावली प्रकाशनपछि आफू केन्द्रीय सदस्यको मात्र उम्मेदवार बनेको स्पष्ट पारेका छन्।
यस्तै ओली समूहमै रहेका मोरङका लालबाबु पण्डित सचिवमा उम्मेदवार बनेका छन् भने सुनसरीका भीमप्रसाद आचार्य उपाध्यक्षमा उम्मेदवारी दिएर समूहको आधिकारिक लाइनबाट अलग देखिएका छन्।
ओली पक्षको सूचीमा नाम नपरेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। त्यस्तै कोशी प्रदेश सभा प्रमुख सचेतक विदुर लिङ्थेप, पूर्वमन्त्री तथा सांसद बुद्धिकुमार राजभण्डारी, मोरङका पर्शुराम बस्नेतले पनि खुला केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश सांसद निरादेवी खनाल आचार्यले महिलातर्फ भूगोल क्लस्टरबाट उम्मेदवारी दिएकी छन्। उनी पूर्व मुख्यमन्त्री भीम आचार्यकी पत्नी हुन्, तर उनको नाम पनि ओली समूहको सूचीमा थिएन।
यसैगरी इलामका सुहाङ नेम्वाङ, पाँचथरका आइन्द्र सुन्दर नेम्वाङ, ओखलढुंगाका किशोरकुमार अधिकारी र सुनसरीकी लक्ष्मी गौतमले समेत बागी उम्मेदवारी दिएका छन्। यीमध्ये केही यसअघि केन्द्रीय सदस्य रहे पनि यसपटक ओली समूहको सूचीबाट बाहिर परेका हुन्।
यसअघि केन्द्रीय सदस्य रहेका ताप्लेजुङका टंक आङ्बुहाङले भने सूचीमा नाम नपरेपछि उम्मेदवारी नै नदिएको जनाइएको छ।उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसके पनि समूहगत अन्तिम सूची भने अझै टुंगिएको छैन। नेताहरूका अनुसार बागी उम्मेदवारमध्ये केही अन्तिम सूचीमा समेटिन सक्ने सम्भावना अझै बाँकी छ। यद्यपि निर्वाचन आजै हुने भनिए पनि प्राविधिक कारणले मतदान अपराह्नतिर मात्रै सुरु हुने निर्वाचन आयोगले जनाएको छ।





























प्रतिक्रिया