ओली प्यानलमा पन्त र नेम्वाङ समेटिए

ओली प्यानलमा पन्त र नेम्वाङ समेटिए

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा तीव्र बनेको छ । यसक्रममा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलमा महत्वपूर्ण परिवर्तन देखिएको छ । ओली समूहले प्रतिनिधिहरूलाई पठाएको अन्तिम प्यानल सूचीमा रघुजी पन्त र सुहाङ नेम्वाङलाई समेटिएपछि पार्टीभित्र नयाँ राजनीतिक सन्देश गएको छ ।

यसअघि रघुजी पन्तले उपाध्यक्ष पदमा ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिने तयारी गरेको बताइएको थियो । तर निर्वाचनको पूर्वसन्ध्यामा ओली पक्षले सार्वजनिक गरेको प्यानल सूचीमा पन्तको नाम समावेश भएपछि एमालेभित्रको आन्तरिक समीकरण फेरिएको संकेत देखिएको छ ।

त्यस्तै, सोमबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुहाङ नेम्वाङलाई पनि ओली प्यानलबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ । सुहाङ स्वर्गीय नेता तथा पूर्वसभामुख सुवास नेम्वाङका छोरा हुन् । पार्टी राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा हेरिएका सुहाङलाई प्यानलमा समेटिनुले ओली पक्षले युवा पुस्तालाई पनि समेट्न खोजेको स्पष्ट संकेत दिएको छ ।

एमालेको यो महाधिवेशन तथा निर्वाचनलाई पार्टीको भावी दिशा र नेतृत्व निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। प्यानलगत प्रतिस्पर्धाका कारण नेतृत्व चयन मात्र नभई शक्ति सन्तुलन, गुटगत समीकरण र पार्टी एकताको विषय पनि केन्द्रमा रहेको छ ।

मंगलबार हुने मतदानबाट अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित केन्द्रीय कमिटीका सदस्यहरू चयन हुनेछन् ।

Skip This
Skip This
Logo