ट्रम्पले बिबिसीविरुद्ध हाले १० अर्ब डलरको मुद्दा

ट्रम्पले बिबिसीविरुद्ध हाले १० अर्ब डलरको मुद्दा

केन्द्रबिन्दु
15
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको उनकाे आरोप छ ।

फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि कथित मानहानि तथा फ्लोरिडा भ्रामक र अनुचित व्यापार अभ्यास ऐनको उल्लङ्घन गरेको आरोप लगाइएको छ । मुद्दामा दुई छुट्टाछुट्टै गणनाअन्तर्गत प्रत्येकका लागि पाँच अर्ब डलरभन्दा कम नहुने गरी क्षतिपूर्तिको माग गरिएको छ, जसको कुल माग कम्तीमा १० अर्ब डलर पुग्छ ।

उनासी वर्षीय राष्ट्रपति ट्रम्पले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिबिसीले ‘मेरो मुखमा शब्दहरू राखिदिएको’ दाबी गरेका छन् । उनले उक्त वृत्तचित्र सम्पादन गर्दा ‘एआई वा यस्तै कुनै प्रविधि प्रयोग गरिएको हुनसक्छ’ भन्ने आशङ्कासमेत व्यक्त गरे र मुद्दा दायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बिबिसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा उक्त वृत्तचित्र प्रसारण गरिएको थियो । सो भिडियोमा सन् २०२१ जनवरी ६ का राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उनले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा आग्रह गरेकाे जस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ । त्यही दिन अमेरिकी सांसदहरू जो बाइडेनको सन् २०२० को चुनावी जित प्रमाणित गरिरहेका थिए ।

राष्ट्रपति ट्रम्पको कानूनी टोलीका प्रवक्ताले एएफपीलाई जारी गरेको विज्ञप्तिमा ‘पहिले सम्मानित र अहिले अपमानित भइसकेको बिबिसीले सन् २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने निर्लज्ज प्रयासस्वरूप जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा राष्ट्रपति ट्रम्पको भाषणलाई हेरफेर गरेर उहाँलाई बदनाम गरेको’ आरोप लगाएका छन् । विज्ञप्तिमा बिबिसीले आफ्ना दर्शकहरूलाई धोका दिने ढाँचा लामो समयदेखि कायम राखेको र त्यो सबै आफ्नै वामपन्थी राजनीतिक एजेन्डाको सेवामा गरिएको दाबीसमेत गरिएको छ ।

बेलायत बाहिरसम्म व्यापक दर्शकवर्ग रहेको ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन पछिल्लो समय उथलपुथलको अवस्थामा छ । गत महिना एक मिडिया रिपोर्टमार्फत सम्पादन गरिएको उक्त क्लिपमा पुनः ध्यान केन्द्रित भएपछि संस्थाभित्र ठूलो विवाद उत्पन्न भएको थियो । यसै घोटालाका कारण बिबिसीका महानिर्देशक तथा संस्थाका शीर्ष समाचार कार्यकारीले पदबाट राजीनामा दिनुपरेको थियो ।

राष्ट्रपति ट्रम्पको मुद्दामा वृत्तचित्रमा सम्पादित भाषणलाई ‘२०२४ को राष्ट्रपति चुनावको ठीक एक हप्ता अघि प्रतिवादीहरूले राष्ट्रपति ट्रम्पलाई क्षति पुर्‍याउने, चुनावको नतिजामा हस्तक्षेप गर्ने र त्यसलाई प्रभाव पार्ने निर्लज्ज उद्देश्यले बनावटी रूपमा तयार गरी प्रसारण गरेको सामग्री’ भनेर वर्णन गरिएको छ ।

बिबिसीले भने राष्ट्रपति ट्रम्पले दायर गर्नुभएको कानूनी मानहानिको दाबी अस्वीकार गरेको छ । यद्यपि बिबिसीका अध्यक्ष समीर शाहले राष्ट्रपति ट्रम्पलाई माफीपत्र पठाएको पुष्टि भएको छ । शाहले गत महिना बेलायतको संसदीय समितिसमक्ष पनि डेली टेलिग्राफ पत्रिकामा चुहिएको एक आन्तरिक मेमोका आधारमा प्रसारणकर्ताले आफ्नो गल्ती चाँडै स्वीकार गर्दै सुधारात्मक कदम चाल्नुपर्ने अवस्था आएको स्वीकार गरेका थिए ।

बिबिसीविरुद्धको यो मुद्दा पछिल्ला वर्षहरूमा राष्ट्रपति ट्रम्पले विभिन्न मिडिया कम्पनीहरूविरुद्ध दायर गर्नुभएको कानूनी कारबाहीहरूको पछिल्लो कडी हो । तीमध्ये धेरै मुद्दाहरू अन्ततः करोडौँ डलरका सम्झौतामार्फत टुङ्गिएको उदाहरणसमेत रहेका छन् । -एएफपी

Skip This
Skip This
Logo