काठमाडौं । एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान प्राविधिक कारण देखाएर स्थगित गरिएको छ । स्थगित मतदान बुधबार बिहान ८ बजेबाट सुरु हुने भनिएको छ । निर्वाचन कार्यतालिमा मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिएको थियो तर तोकिएको समयमा मतदान सुरु हुन सकेन। दिनभर पटकपटक मतदान समय सारियो। अन्तिममा राति आठ बजेबाट सुरु हुने भनियो। तर राति आठ बजे पनि मतदान सुरु हुन सकेन। मतदान सुरु हुन नसकेपछि प्राविधिक कारण देखाएर बुधबार बिहानसम्मका लागि स्थगित गरिएको हो।
मतदान स्थगित भएको जानकारी मतदानस्थल भृकुटीमण्डपमा निवर्तमान महासचिव ईश्वर पोखरेलले सबै नेतालाई बोलाएर गराएका थिए । उनी महासचिवका उम्मेदवार पनि हुन् । उनले रातिमा प्राविधिक कारणले मतदान सुरु गर्न नसकिएकाले सबैको सल्लाहमा बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको बताएका थिए । मतदान विद्युतीय मेसिनबाट हुनेछ ।
पार्टी राजनीतिमा अनेक उत्तारचढाव भोगेका र आफ्नो समूहबाहेकमा अनुदार मानिएका केपी शर्मा ओली अध्यक्षमा तेस्रो पटक निर्वाचित हुने अन्तिम तयारीमा छन् ।
मंगलबार मतदान स्थगित भएकाले प्रतिनिधिले बुधबार मात्र आफ्नो मताधिकार प्रयोग गर्नेछन् । परिणाम मतदान सकिएर रुजु भएको तीन घण्टामा प्रकाशित हुने निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । उनका अनुसार बुधबार मतदान सकिएपछि गणना प्रक्रिया सुरु हुनेछ। ‘मतदान प्रक्रिया सकिएको केही समय कलेक्सन र प्राविधक रुपमा रुजु गर्नुपर्ने हुन्छ । त्यसपछि तुरुन्तै मतगणना हुन्छ । उनका अनुसार ८० वटाजति विद्युतीय मेसिनबाट भोट खसाल्ने व्यवस्था मिलाइनेछ।





























प्रतिक्रिया