काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा मतदान प्रक्रिया आफैंमा एउटा अनुभव बनेको छ । प्रतिनिधिहरूका लागि यो केवल भोट हाल्ने काम होइन, प्रविधिसँगको प्रत्यक्ष साक्षात्कारजस्तै भएको छ । मतदानस्थलमा प्रवेश गर्नुअघि प्रतिनिधिहरूले आफ्नो प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ। स्क्यान सफल भएपछि मात्रै भित्र प्रवेश पाइन्छ। त्यसपछि कार्डमा प्वाल पारिन्छ, जसले एकपटक मात्र मतदान गर्न सकिने सुनिश्चित गर्छ। यो चरण पार गरेपछि प्रतिनिधि पुग्छन् भोटिङ मेसिनसम्म जहाँ वास्तविक ‘परीक्षा’ सुरु हुन्छ ।
भोटिङ मेसिनको स्क्रिनमा सबै पदका उम्मेदवारको फोटोसहित सूची देखिन्छ। प्रतिनिधिले फोटो र नाम हेरेर आफ्नो रोजाइको उम्मेदवारमा दुई पटक थिच्नुपर्छ। यसलाई ‘डबल ट्याप’ प्रविधि भनिएको छ। यदि गल्तीले भोट फिर्ता भयो भने स्क्रिनमा संकेत चिह्न देखापर्छ, र प्रतिनिधिले पुनः भोट हाल्ने वा निर्णय बदल्ने मौका पाउँछन्।
हालसम्म मतदान गरेर फर्केका प्रतिनिधिहरूको अनुभव फरक–फरक छ । प्रविधिमा दख्खल भएकाहरूले २५ मिनेटमै मतदान सकेका छन् भने केहीलाई ४० मिनेटसम्म समय लागेको छ । कारण पनि स्पष्ट छ—१९ पदाधिकारीका लागि ४१ उम्मेदवार र ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार सबै पदमा भोट हाल्न झण्डै साढे तीन सय पटक बटन थिच्नुपर्छ।
मतदानस्थलभित्र मोबाइल फोन निषेध गरिएको छ । तर दुवै प्यानलका उम्मेदवारको छापिएको सूची लैजान अनुमति दिइएको छ, ताकि प्रतिनिधिहरूले हेरेर आफ्ना उम्मेदवार छनोट गर्न सकून्। हाइटेक प्रविधि, लामो समय र ठूलो संख्याका उम्मेदवार यी सबैले एमाले महाधिवेशनको मतदानलाई नेपाली राजनीतिक इतिहासकै सबैभन्दा फरक र चासोपूर्ण बनाएको छ ।































प्रतिक्रिया