पर्वत–बागलुङका धार्मिक गन्तव्यको प्रवद्र्धनमा भारतीय टुर अपरेटरको भ्रमण

पर्वत–बागलुङका धार्मिक गन्तव्यको प्रवद्र्धनमा भारतीय टुर अपरेटरको भ्रमण

केन्द्रबिन्दु
30
Shares

गण्डकी । भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले पर्वत र बागलुङका प्रमुख धार्मिक गन्तव्यस्थलको प्रवद्र्धनात्मक भ्रमण गरेका छन्। बिहीबार पोखरामा हुने दोस्रो ‘भारत–नेपाल टुरिजम मिट’को सन्दर्भमा बुधबार पर्वतको कुश्मा–५ स्थित मोदीवेणी धाम, बागलुङको कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयको अवलोकन तथा प्रवद्र्धन कार्यक्रम गरिएको हो।

स्वागत तथा अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले धार्मिक पर्यटनका दृष्टिले प्रदेशमा प्रचुर सम्भावना रहेको बताए। उनले धवलागिरि क्षेत्र प्रकृति र संस्कृतिले धनी रहेकाले यसका धार्मिक सम्पदाको विकासमा सामूहिक पहल आवश्यक रहेको उल्लेख गरे।

बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले यस्ता कार्यक्रमले नेपाल–भारत सम्बन्ध सुदृढ गर्नुका साथै पर्यटन क्षेत्रमा सहकार्यका अवसर बढाउने बताए। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रेम भट्टराईले भारत–नेपालबीच पर्यटन सम्भावना पहिचानमा कार्यक्रम महत्वपूर्ण हुने धारणा राखे।

पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले भारतीय टुर अपरेटर र इन्फ्लुएन्सरहरूको सहभागिताले सामाजिक सञ्जालमार्फत गन्तव्य प्रचारमा टेवा पुग्ने बताए। होटल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले धार्मिक पर्यटन प्रवद्र्धनले क्षेत्रीय पर्यटनले ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे। उत्तर प्रदेश पर्यटन विभागका सह निर्देशक दिनेशकुमारले सहयोगको प्रतिबद्धता जनाए।

कार्यक्रमअन्तर्गत कालिका भगवती मन्दिरको इतिहास, कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय (सुरुङ संरचनामा सवा लाख शालिग्राम) तथा मोदीवेणी धामको धार्मिक महत्वबारे जानकारी गराइएको थियो।

पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा सोमबारदेखि सुरु भएको प्रवद्र्धनात्मक भ्रमण बिहीबार बिहान पुम्दीकोट अवलोकनपछि साँझ पोखरामै दोस्रो ‘भारत–नेपाल टुरिजम मिट’सँगै समापन हुने आयोजकले जनाएको छ।

Skip This
Skip This
Logo