ओखलढुंगा
ओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन् । राती करिब ९ बजे पानी थाप्न पधेँरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै घर फर्किन्छिन् । ‘धेरै भो घरमा बास बस्न नपाएको, एक गाग्री पानीका लागि पधेँरामै रात बिताउनु पर्छ’ गहभरि आँसु पार्दै देवीमायाले भनिन् ‘पानी भर्दै गफ गर्दै रात बित्छ, ओड्ने लगेर त्यहीँ गाग्री बोक्ने डोकोमा पसेर पनि सुत्छौं, पानी भर्ने पालो नआउन्जेल ।’ स्थानीयका अनुसार बेलुका ८ बजे पँधेरामा पुग्नेको पालो बल्ल बिहान ४ बजे आउँछ । देवीमाया जस्तै ५५ घर स्थानीयले खानेपानीको चरम अभाव झेलिरहेका छन् । साँझ बिहान २४ सै घण्टा भिरगाउँ नजिकै रहेको कुवा र त्यहाँको सानो धारामा पानी भर्ने भीड लाग्ने गरेको छ ।
पानी अभावले सरसफाई समेत गर्न नसकेको स्थानीय भक्तमाया मगर बताउँछिन् । ‘यहाँ खानकै लागि पानी छैन, नुहाउन र लुगा धुन त परकै कुरा भो ।’ उनी भन्छिन्– ‘ढुंगा, माटो, बालुवा, सिमेन्टको काम गर्नु पर्छ, राती पानी थाप्न पधेँरोमा’ । भिरगाउँकी ७० वर्षीया नरिमाया मगरको पनि दैनिकी यस्तै छ । पानी थाप्न उनी आफैँ मुहानमा जान्छिन् । उनले भनिन्– ‘लौरो टेकेर म आफैं पानी लिन जान्छु, घरमा कोही छैनन् आफैँ नगई हुँदैन, साह्रै दुःख पाईयो ।’
सुनकोशीको बलखुमा मात्रै होईन ओखलढुंगा जिल्लाभर नै खानेपानीको अभाव बढेको छ । जिल्लाका सबैजसो नगर तथा गाउँपालिकामा खानेपानीको समस्या बढ्दै गएको हो । पानीको अभावले जिल्लामा पुननिर्माण समेत प्रभावित भएको छ । खानेपानीको समस्या भईरहेको ठाउँका स्थानीयलाई ट्याक्टरमा पानी बोकेर घर बनाउनु पर्ने बाध्यता छ । जिल्लाको सुख्खा ग्रस्त क्षेत्रमा पशु बचाउन समस्या भएको छ । बोकेको पानीले मानिसका समस्या जेनतेन धानेको भएपनि पशुवस्तु बचाउन समस्या भईरहेको स्थानीय रामबहादुर मगर बताउँछन् ।
गाउँमा पानीको अभाव बढ्दै गएको समस्याप्रति आफुहरुको ध्यान केन्द्रित भएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताए । ‘भिरगाउँमा पानी पुर्याउनु हाम्रो पहिलो प्राथमिकता हो, जसरी पनि पानीको व्यवस्थापन गर्छौँ ।’ अध्यक्ष अधिकारीले भने ‘मुहान देखि चुहान सम्म चाँडै काम अघि बढ्नेछ र एकसाथ समस्या समाधान हुनेछ ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया