विराटनगर
३३ केजी सुन काण्डले प्रदेश–१ को प्रदेशसभामा प्रवेश पाएको छ । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र सुन काण्डबारे भइरहेको अनुसन्धानबारे प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको जवाफ माग गरेका हुन् ।
माओवादी सांसद कुलप्रसाद सम्वाले सनम शाक्यको हत्या र सुन काण्ड प्रहरीको हाई कमान्डसँग जोडिएको बताए । उनले यसबारे सरकारको जवाफ माग गरेका छन् । कांग्रेस सांसद केदार कार्कीले प्रदेश–१ को शान्ति सुरक्षा खस्किएको भन्दै प्रदेश सरकारको आलोचना गरे । प्रदेशमा पछिल्ला समय आपराधिक घटना दिनानुदिन बढेको भन्दै उनले शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार असफल भएको बताए ।
उनले प्रदेश सरकारलाई कर्मचारीले नटेरेको, गाईघाटमा भएको बम विस्फोटका घाइते पारस राईको पैसा अभावमा उपचारमा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद कार्कीले प्रदेश संसद भवनको चारैदिशामा सीसी क्यामेराको निगरानी सहित प्रहरी बिट स्थापना गर्न समेत माग गरे । अर्का सांसद जयराम यादवले भारतीय दूतावासको सम्पर्क कार्यालयमा भएको बम विस्फोटको घटनाबारे ध्यानाकर्षण गराए । संघीय समाजवादी फोरमका सांसद यादवले बम विस्फोटबारे छानविन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरे ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया