साढे दश वर्ष कुवेतमा विताएर फकिएकी ४० बर्षिया शकुन्तलाको दुखलाग्दो कथा

साढे दश वर्ष कुवेतमा विताएर फकिएकी ४० बर्षिया शकुन्तलाको दुखलाग्दो कथा

लाज नमानी स्वदेशमै काम गरे विदेशीनु नपर्ने रहेछ

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। रामदुनी झुम्का–१ की सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमानको कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उनी बाध्य भएर विदेशीनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुगेकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउनेबाहेक अन्य अनुभव थिएन ।

के कामका लागि विदेश जाँदैछु भन्नेसमेत थाहा नपाइ उनी विदेशीइन् । बदलामा दुई वर्षसम्म निकै सास्ती खेप्नुप¥यो, ऋणधन गरेर गएकी अधिकारीलाई रित्तो हात घर फर्किने सुविधा थिएन । पछि जसोतसो साथीभाइको सहायतामा उनले अरबीको घरमा घरेलु कामदारका रुपमा काम पाइन् ।

“त्यहाँ राम्रो घरमा काम पाउनु भनेको निकै भाग्यको कुरा हो, त्यस्तै भाग्मानी रहेछु म । मैले काम पाएको घरका मान्छे निकै मनकारी रहेछन”, अधिकारीले स्मरण गरिन्,“काम भने धेरै गर्नुपथ्र्यो । २४सै घण्टा काममा खट्नुपर्ने अवस्थासमेत आउने ।”

अचेल अधिकारीलाई त्यति समय नेपालमै श्रम बगाएको भए पनि धेरै आर्थिक लाभ हुने रहेछ भन्ने लागिरहेको छ । “वैदेशिक रोजगारीमा जानु हामीजस्ता महिलाका लागि रहरभन्दा पनि बाध्यता नै हो । विदेश गएर दुई चार पैसा ल्याई बस्ने बास र छोराछोरी पढाउने आशमा विदेशिनुपर्ने अवस्थाका कति छन् कति”, उनी भन्छिन् ।

त्यही बाध्यता अधिकारीलाई पनि थियो, त्यसैले त साढे दश वर्षसम्म छोराछोरी पढाउनकै लागि चाहेर पनि उनले स्वदेश फिर्कन पाइनन् । “घर आउने चाहना कसलाई हुँदैन र ? छोराछोरी काखमा च्याप्ने रहर त थियो नि मलाई पनि”, उनी भन्छिन्, “तर, के गर्नु आउँदा जाँदा खर्च लाग्छ भनेर मन बाधेर बस्थेँ । त्यसो गर्दा गर्दै साढे दश वर्ष कुवेतमा श्रम बगाएँ ।”

४० वर्षीया अधिकारी जब स्वदेश फर्किन, आफ्नै देशमा पनि शान्तले बस्न पाइनन्। परिवार, समाज र आफन्तले हेर्ने दृष्टिकोण सकारात्मक भएन । उनले आर्थिक अभावभन्दा पनि यस्तै दृष्टिकोणका कारण समस्या भोग्न बाध्य भइन् । “छोराछोरी छोडेर विदेशिएकी महिलालाई राम्रो नजरले हेर्दा रहेनछन्, मैले धेरै नराम्रो सुन्नुपर्यो”, अधिकारीले पीडा सुनाइन् , “समाज, परिवार र आफन्तको त्यही असहयोगी वातावरणले मानसिक समस्या भोग्नुप¥यो । डिप्रेसनको औषधि खानुपर्यो । आत्महत्या गर्ने सुर चल्यो ।”

लाञ्छनाले भरिएको गहु्रङ्गो र विक्षिप्त मन बोकेर बाँचिरहेकी अधिकारीलाई केही समय निकै गाह्रो भयो । पछि सहकर्मी र केही सकारात्मक सोच भएका मानिसहरूमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण (रेमी) परियोजनासँग जोडिइन् । “त्यहाँ गएपछि पहिलो चरणमा आत्मबल बढाउने खालको सहयोग पाएँ, पछि आर्थिक मनोबल बढाउने सामग्री उपलब्ध गराइयो”, अधिकारीले भनिन्,“डिपफ्रिज र केही व्यवसाय गर्ने सामग्री उपलब्ध भयो । त्यसैको सहयोगमा चटपटे, पानीपुरीको व्यापार र किराना पसल सञ्चालन गरिरहेकी छु ।”

त्यसपछि उनको दैनिकी फेरिएको छ । समाजका लाञ्छना पन्छाउँदै त्यही व्यापारबाट राम्रो आम्दानीसँगै स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्ने आधार बनिरहेको अधिकारले बताइन् । सुनसरीबाट अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काठमाडौँ आउनुभएकी उनले आफ्नो प्रगती सुनाउँदै भनिन् ,“वैदेशीक रोजगारमा गएर मात्रै समस्या सुल्झिन्ने रहेनछ । हामीले स्वदेशमै लाज नमानी काम गर्ने हो भने अर्काको देशमा दुःख गर्नु पर्दैन । परिवारसँगै बसेर सम्मानित जीवन बाँच्न सकिने रहेछ ।”

उनीजस्तै, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यमी बनेकी जनकपुरका नन्दु यादवको सङ्घर्ष पनि रोचक छ । कतारमा १८ वर्षसम्म श्रम गरेर फर्किएकी उनले हाल माछा तथा पशुपालन व्यवसाय गरिरहेकी छन् । ५६ वर्षीय यादवले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो,“विदेश जानु नराम्रो होइन, सीप सिकेर जाँदा राम्रै हुन्छ । जाँदा सीप सिकेर गइएन भने धेरै दुःख पाइन्छ । होस् गर्नुपर्छ ।”

२० वर्षको कलिलो उमेरमा घरको आर्थिक अवस्था सुधार्न रु ७० हजार ऋण लिएर कतार पुगेकी उनले त्यहाँ सोचेजस्तो कमाइ नभएको बताइन् । “ऋणको ब्याज तिर्दै विदेशको पैसा सकियो । केही रकम परिवारको आवश्यकता पूर्तिकै काममा सकियो”, यादव भन्छिन्,“समस्या त घर फर्किएपछि भयो । लगानी गर्न पैसा छैन, के गर्ने, कसो गर्ने भयो । पछि रेमी परियोजनाको सहयोगमा माछा तथा पशुपालन व्यवसाय सुरु गर्दा धेरै राहत भएको छ ।”

यादवका अनुसार हाल उनको फार्ममा अन्य दुई जना युवाले पनि रोजगार पाएका छन् । यसले धेरैपछि कर्म गर्नेलाई स्वदेशमै पनि आम्दानीका विभिन्न अवसर रहेको भन्ने महसुस भएको यादवले सुनाइन् । उनी भन्छिन्, “अर्काको देशमा नोकर बन्नुभन्दा आफ्नो देशमा साहु बनेरै कमाउन सकिँदो रहेछ ! आफ्नै देशमा पैसा पनि सम्मान पनि मिल्ने । त्यसैले वैदेशिक रोजगारमा जाने सोच बनाएकाले यस विषयमा सोच्नुपर्छ भन्ने लाग्छ ।”

अधिकारी र यादव मात्रै होइन, एकपटक विदेश गएर फर्किएपछि मात्रै देशमा अवसर देख्ने गरेका छन् । यद्यपि, धेरैलाई स्वास्थ्य, समय र विविध कारणले अवसर पहिचान गर्ने अवस्था रहँदैन ।

मन्त्रालयले प्रकाशन गरेको नेपाल आप्रवासन श्रमिक प्रतिवेदन २०२४ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो क्रममा छ । तथ्याङ्कअनुसार सन् २०२२÷२३ र २०२३÷२४ मा नौ लाख ५४ हजार ३१९ जनाले श्रम स्वीकृति लिएको अवस्था छ, जसमा एक लाख १३ हजार ५६ महिला श्रमिक छन् ।

यस्तै, सन् २०२३÷२४ मा वैदेशिक रोजगारमा जानेमा सीपयुक्त जनशक्ति वृद्धि भई ६९ दशमलव पाँच प्रतिशत पुगेको छ, तर पूर्ण दक्ष जनशक्तिको वृद्धि भने शून्य दशमलव चार प्रतिशत मात्रै छ ।

Logo