मस्को । युक्रेनबारे अमेरिकाको मियामीमा युक्रेन र पश्चिमा मुलुकका नेतासहित अमेरिकी प्रतिनिधिसँग हुने वार्तामा रुस सहभागी हुने मस्कोले जनाएको छ ।
युक्रेन युद्धको समाधानका लागि अर्को चरणको वार्तामा रुसी वार्ता टोलीका नेता किरिल दिमित्रीएभले शनिबार आफू मियामी जान लागेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपतिका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा हुने वार्ताका लागि युक्रेनी र युरोपेली टोली पनि अमेरिकी शहर मियामीमा रहनेछन् ।
वार्ताका लागि ट्रम्पका दूतहरूले एक योजना अघि बढाएका छन् जसमा संयुक्त राज्य अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने तर किएभले सम्भवतः केही क्षेत्र गुमाउने अपेक्षा गरिएको छ । यो योजनाप्रति युक्रेनीहरूबीच असन्तुष्टी देखिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शुक्रबार युक्रेनलाई कुनै पनि सम्झौतामा बाध्य नपार्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “युक्रेन यसमा सहमत नभएसम्म कुनै शान्ति सम्झौता हुँदैन। आफ्नो गृहनगर मियामीमा शनिबार हुने वार्तामा उहाँले सहभागी हुन सक्ने बताउनुभयो ।”
दिमित्रिएभले बिहानको सूर्य र समुद्र तटको हरियाली समेटेको छोटो भिडियोसहितको एक पोस्टमा सामाजिक सञ्जाल एक्समा आफू ‘मियामीको यात्रामा’ रहेको लेखेका छन् ।
अमेरिकीहरूले विभिन्न स्थानहरूमा प्रत्येक पक्षसँग छुट्टाछुट्टै वार्ता गर्दै आएको अवस्थामा वार्तामा रूसी र युरोपेली संलग्नताले पहिलेको चरणबाट वार्ता प्रक्रिया एक कदम अगाडि बढेको सङ्केत हुन्छ ।
दिमित्रिएभले युक्रेनी र युरोपेली वार्ताकारहरूसँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना छैन किनकि दुई पक्षहरू बीचको सम्बन्ध अत्यन्त तनावपूर्ण छ। सन् २०२२ को फेब्रुअरीमा युक्रेन आक्रमणका लागि सेना पठाएको मस्कोले वार्तामा युरोपको संलग्नताले प्रक्रियामा बाधा पुर्याउने तर्क गरेको छ। -एएफपी































प्रतिक्रिया